
मेवा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा भिटामिन–ए, भिटामिन–बी, भिटामिन–सी, भिटामिन–ई, क्याल्सियम, फाइबर, म्याग्नेसियम, पोटासियम र एन्टिअक्सिडेन्टहरू पाइन्छ । जसले स्वास्थ्यलाई धेरै फाइदा पुर्याउँछ । मेवाले पाचन प्रणालीलाई स्वस्थ राख्न र पेटसम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत गर्छ ।
यसमा लुटेन र जेक्सान्थिन क्यारोटीनोइड तत्वहरू हुन्छन् । जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ । यसको सेवनले कोलेस्ट्रोल घट्छ, रक्तचाप नियन्त्रणमा रहन्छ र मधुमेहमा पनि फाइदा हुन्छ ।
प्रायः मानिसको मनमा प्रश्न हुन्छ मेवा खाने सही समय कुन हो ? डाइटफिटका डाइटिशियन अबर्ना माथेवननका अनुसार मेवा खानु उपयुक्त समय बिहान खाली पेट हो । हरेक बिहान खाली पेटमा मेवा खाँदा धेरै गम्भीर रोगबाट बच्न सकिन्छ । आउनुहोस्, हरेक बिहान मेवा खानुका फाइदाहरू के–के हुन् जानौं ।
मेवाका फाइदा
पाचन प्रणाली स्वस्थ
हरेक बिहान मेवा खाँदा पाचन प्रणाली स्वस्थ रहन्छ र पेटको समस्याबाट बचाउँछ । तपाईं बारम्बार कब्जियतको समस्याबाट हैरान हुनुहुन्छ भने बिहान खाली पेटमा मेवा खानुपर्छ । यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ । जसले दिसा त्याग्नलाई सजिलो बनाउँछ र कब्जियतबाट छुटकारा पाउन मद्दत गर्छ । यसले एसिडिटी र अपचको समस्यालाई कम गर्न मद्दत गर्छ ।
तौल घटाउन मद्दत गर्दछ
तपाईं हरेक बिहान मेवा खानुहुन्छ भने यसले तपाईंको तौल घटाउन मद्दत गर्दछ । यसमा क्यालोरीको मात्रा धेरै कम हुन्छ । प्रशस्त मात्रामा फाइबर हुन्छ जसले लामो समयसम्म भोक लाग्न दिँदैन र तपाईं धेरै खानबाट बच्नुहुनेछ । यसरी यसले तपाईंको तौल घटाउन सजिलो बनाउँछ।
रोग प्रतिरोधात्मक क्षमता बढ्छ
मेवामा भिटामिन सी र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । यसबाट तपाईं संक्रमण र रोगहरूको जोखिमबाट बच्न सक्नुहुन्छ । हरेक बिहान मेवा खाँदा शरीरमा रहेको विषाक्त तत्व बाहिर निस्किन्छ र शरीरलाई डिटक्सिफिकेसन हुन्छ ।
मुटु स्वस्थ राख्छ
शरीरमा बढेको कोलेस्ट्रोलले मधुमेह, मोटोपना र मुटुसम्बन्धी रोग निम्त्याउँछ । यस्तो अवस्थामा यसलाई नियन्त्रण गर्नु निकै जरुरी छ । मेवामा पाइने फाइबरले खराब कोलेस्ट्रोलको स्तर घटाउन मद्दत गर्छ । साथै यसमा पोटासियम पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्छ । हरेक बिहान मेवा खाँदा मुटु रोगबाट बच्न सकिन्छ ।
छालाको चमक बढाउँछ
हरेक बिहान मेवा खानु स्वास्थ्यका साथै छालाको लागि पनि निकै फाइदाजनक हुन्छ । यसमा प्रचुर मात्रामा भिटामिन सी पाइन्छ । जसले छालाका कोशिकाहरूलाई मर्मत गर्न मद्दत गर्छ । साथै यसमा पाइने एन्टिअक्सिडेन्टले छालालाई फ्री रेडिकल क्षतिबाट बचाउन मद्दत गर्छ ।