News Griha :: न्यूजगृह
भारतमा उपचाररत कांग्रेस नेता भण्डारीलाई सामान्य आहार दिन सुरु

काठमाडौं— नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा.चन्द्रकान्त भण्डारीलाई समान्य आहार दिन सुरु गरिएको छ ।

बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट घाइते भएपछि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई सामान्य आहार दिन सुरु गरिएको हो ।

आगलागीबाट गम्भीर घाइते भएका डा.भण्डारीको आज ३३ दिन पुग्दा स्वास्थ्यमा सुधार भइरहेको र अनुहारको छाला राम्रो हुँदै गएको डा.भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए ।

‘डा.भण्डारीको फिजियोथेरापी भइरहेको छ, कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ’, डा.भण्डारीका दाजु मीनप्रसादले भने ।

डा.भण्डारीको फिजियोथेरापी जारी रहेको र केही समय सहयोगबिना बस्न थालेको दाजु मीनप्रसादको भनाइ थियो । अनुहारको छाला राम्रो हुँदै गएकाले तत्काल अप्रेसन गर्नुनपर्ने चिकित्सकले बताएका छन् ।

संक्रमण नियन्त्रण गर्न अस्पताल प्रशासनले आगन्तुकलाई कडाइका साथ निषेध गरेको छ । आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए ।

हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते नै निधन भएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  २१:३०
Weather Update