
काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले विद्यालय कर्मचारीले उठाएका माग पूरा गराउन सबै तह र तप्काको भूमिका अपरिहार्य भएको बताएको छ ।
शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा भएको बृहत् विरोध सभापछि समीक्षा बैठकमा सबै तहको पहल अपरिहार्य रहेको निष्कर्ष निकालेको हो ।
नेपाल शिक्षक महासंघको संयोजकत्वमा भएको सभामा सहभागीहरूले संघीय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई प्रावि तह सरह तलब, सेवासुविधा दिनुपर्ने, विद्यालय कर्मचारीसँग सम्बन्धित सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन हुनुपर्ने, ६० वर्षे उमेर हद अन्त्य गरिनुपर्ने, तलब वृद्धि गर्नुपर्नेलगायत दर्जनौं माग गरेका थिए ।
यसअघि पनि आफ्ना माग पूरा गराउन सरोकारवालाको ध्यानाकर्षण गराउँदै आएको विद्यालय कर्मचारी परिषद्ले थप पहल आश्यक रहेको बताएको छ ।
परिषद्ले पालिका, जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमिति तहले माग पूरा गराउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएको छ ।