News Griha :: न्यूजगृह
पशुमा लम्की स्किन रोग देखिएपछि म्याग्दीका किसान चिन्तित

म्याग्दी— म्याग्दीमा गाईगोरुमा लम्की स्किन रोग देखिएको छ । देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएर पशुधनको क्षति गरेको लम्की स्किन म्याग्दीमा पनि भित्रिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जीवनप्रसाद आचार्यले रघुगङ्गा गाउँपालिकाको पाखापानी, झिँ, अन्नपूर्णको हिस्तान दोसल्ले, मङ्गलाको खुम्ल्याह र धवलागिरि गाउँपालिकाको मुनामा लम्की स्किन देखिएको बताए ।

‘कृषकले जानकारी गराएपछि गोठमा पुगेर बिरामी गाईगोरुको नमूना सङ्कलन गरी पोखरास्थित पशु रोग प्रयोगशालामा पठाएका थियौँ’,उनले भने,‘प्रयोगशालाले लम्की स्किन भएको पुष्टि गरेको छ । कृषकलाई सतर्कता अपनाउन र लम्की स्किनविरुद्धको खोप लगाउन अनुरोध गरेका छौँ ।’

गाईलाई ज्वरो आउने र शरीरमा फोका देखापर्ने, पछि झोक्राउँदै जाने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेका कृषकले बताएका छन् ।

पाखापानी औलाका हुमबहादुर पुनले बर्खेबाली लगाउने बेलामा गोरु मर्दा समस्या भएको बताए  । उनका अनुसार करिब एक महिनायता म्याग्दीका विभिन्न स्थानमा लम्की स्किनको समस्या देखिएको छ । यो रोग हावाका माध्यमबाट सर्ने बताइएको छ । साथै झिँगाबाटसमेत यो रोगको सङ्क्रमण बढ्ने बताइएको छ ।

यो रोगको उपयुक्त औषधि नभए पनि खोप पहिचान भएको छ । ठूला फार्म र गोठमा लम्की स्किन भित्रिन नदिन खोप लगाउन थालिएको बेनी नगरपालिका–७ का कृषक कृष्ण शर्माले बताए ।

खोपको माग अद्यावधिक भएकाले भनेको समयमा नपाएको कृषकले बताएका छन् । यो रोगका कारण गाई गोरुमा समस्या आउँदा दूध उत्पादनमा असर पर्ने जनाइएको छ । म्याग्दीका भैँसीमा भने अहिलेसम्म लम्की स्किन देखिएको छैन ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  २१:२८
Weather Update