News Griha :: न्यूजगृह
 कोरोना सङ्क्रमण घट्यो

काठमाडौं— कोरोना भाइरसको सङ्क्रमण घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार ५०५ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ ।

इपीडीमीयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले अहिले सङ्क्रमितको अवस्था घट्दो रहेको बताए ।

‘भारतमा पनि सङ्क्रमण घट्न थाल्यो । नेपालमा खोपको प्रभाव देखियो’, उनले भने,‘समुदायमा खोप लगाएमा मानिसको सङ्ख्यामा धेरै भएकाले सङ्क्रमण सर्न पाएन । त्यसैले सङ्क्रमण घटिरहेको छ ।’ सङ्क्रमण बाहिरबाट आउने र यहाँ भएका सङ्क्रमितमध्ये सरेर सङ्क्रमण बढ्ने गर्दछ ।

विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको सङ्क्रमण घटेको पाइन्छ ।  २१ वैशाखमा ४३ जना, २२ वैशाखमा १७ जना, २३ वैशाखमा ७६ जना, २४ वैशाखमा ३२ जना, २५ वैशाखमा ५७ जना र २६ वैशाखमा ५१ जनामा सङ्क्रमण देखिएको थियो ।

अहिलेसम्म एक सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै १४ जना आइसोलेशन, पाँच जना आईसियू र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । गत चैतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखा परेपछि सङ्क्रमण बढेको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  २१:११
Weather Update