
काठमाडौं— सुर्तीजन्य पदार्थको मूल्य उल्लेख गरिएको पोष्टर किराना पसल वा होलसेल पसलमा टाँसेमा कारबाही हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना सार्वजनिक गरी सुर्तीजन्य पदार्थको मूल्य अंकित पोष्टर टाँसिएको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना गर्ने जनाएको छ ।
‘नेपालमा सुर्तीजन्य कम्पनीहरूले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलहरूको बिक्रीस्थलमा आफ्नो कम्पनीको नाम र दर रेटसहित मूल्यसूची राखेर विज्ञापन गरेको पाइएको र उक्त कार्य सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा १०, सुर्तीजन्य पदार्थ नियन्त्ररण र नियमन निर्देशिका २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ विपरीत भएकाले त्यस्ता विज्ञापन हुने गरी टाँस गरिएका चुरोट, बिंडी, गुट्खा आदिका मूल्यसूची उल्लेखित पोष्टर वा वालचार्ट टाँस नगर्न र टाँस गरेको भएमा तुरुन्त हटाउन निर्देशन गरिन्छ’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।
सूचना अनुसार ‘यदी टाँस गरेको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना हुने बेहोरासमेत यसै सूचनाद्वारा सबैमा जानकारी गराइन्छ ।’