News Griha :: न्यूजगृह
गोल्छा ग्रुपको ‘एसेम्बल’ राजनीतिः भन्सार सुविधा लिने तर मूल्य नघटाउने

काठमाडौं— गोल्छा ग्रुपले बजाजको पल्सर मोटरसाइकल नेपालमै ‘एसेम्बल्ड’ गर्दै आएको छ ।

सन् २०१८ देखि ग्रुप अन्तरगतको हुलास अटोक्राफ्‌टले नवलपरासीको रामग्राममा उद्योग स्थापना गरेर बजाज कम्पनीको पल्सर मोटरसाइकल उत्पादन गर्दै आएको छ । नेपालमा यो उद्योग स्थापना भएसँगै भारतबाट तयारी अवस्थामा आउने पल्सर मोटरसाइकल आउन छाडेको छ । 

गोल्छा ग्रुप अन्तरगतको कम्पनी हुलास अटोक्राफ्‌ट भारतबाट मोटरसाइकलको इन्जिन (सीसीअनुसार) र अन्य पार्टपुर्जाहरू ल्याउँछ ।

नेपालको उद्योगमा इन्जिन र पार्टपुर्जाहरू जोडिन्छन् । र, बजाज कम्पनीका मोटरसाइकलहरू तयार हुन्छन् । तयारी मोटरसाइकल भारतबाट आयात गरेर नेपाली बजारमा बेच्दा भन्दा गोल्छा ग्रुपलाई आफ्नै उद्योगमा एसेम्बल गर्दा अधिकतम नाफा हुन्छ । 

भन्सार विभागका अनुसार एउटा तयारी अवस्थाको मोटरसाइकल भारतबाट नेपाल भित्राउँदा व्यापारीले सो मोटरसाइकलको लागत मूल्यको १ सय ८४ प्रतिशतसम्म भन्सार बुझाउनुपर्छ । तर व्यापारीले नेपालमा उद्योग स्थापना गरेर सोही मोटरसाइकल एसेम्बल गर्न खोज्दा इन्जिन र आवश्यक पार्टपुर्जाहरू बापत करिब १ सय ५ प्रतिशत मात्रै भन्सार शुल्क बुझाए पुग्छ ।

सामान्य रुपमा हेर्दा नै करिब ८०  प्रतिशत भन्सार शुल्क मोटरसाइकलको हकमा गोल्छा ग्रुपले बचाउँछ । नेपालको उद्योगमा एसेम्बल गर्दा ग्रुपको लागत त बढ्छ तर तयारी मोटरसाइकल ल्याउँदा लाग्ने भन्सार शुल्क भन्दा त्यो लागत कम हुन्छ । 

भन्सार सुविधा लिने, मूल्य नघटाउनेः 

‘नेपालमै उद्योग दर्ता गरि सामान उत्पादन गर्छु भनेको हकमा उद्योगीहरूले सरकारी सुविधा पाउँछन् । र, यसो गर्दा व्यापारीहरूलाई नेपाली बजारमा आफ्नो पकड जमाउन पनि  सजिलो हुन्छ,’ भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले भने, ‘एसेम्बलका लागि ल्याइने इन्जिन र पार्टपुर्जामा लाग्ने भन्सार शुल्क अवश्य नै कम पर्छ । त्यो बाहेक उद्योग दर्ता पश्चात उद्योगीहरूले उत्पादन लागतको रुपमा अन्य शुल्क पनि देखाउन पाउँछन् ।’ 

अर्थ मन्त्रालयले गोल्छा ग्रुपले बजाज मोटरसाइकल र सामसुङ टिभी एसेम्बलका लागि सरकारबाट भन्सार सुविधा लिएको बताएको छ । ‘जहाँसम्म मूल्यको सवाल छ त्यो बजारको माग र उत्पादन लागतमा निर्धारण हुने कुरा हो,’ अर्थ मन्त्रालयका उपसचिव वसन्तराज तिवारीले भने,‘सरकारी नियमअनुसार कुनै पनि उत्पादनको लागत खर्चको २० प्रतिशतभन्दा बढि नाफा लिनु गैरकानुनी कुरा हो ।’

गोल्छा ग्रुपको हकमा भन्सार शुल्क बापतको ८० प्रतिशत रकम नाफा देखिएपनि नेपालमा स्थापित उद्योगको खर्च पनि त्यसमा समावेश हुने भएकोले सोही अनुपातमा फाइदा भने नदेखिएको अर्थ मन्त्रालयले जनाएको छ । ‘आवश्यकता भन्दा बढि फाइदा लिएर बजारमा बेचविखन भएको पाइएमा मन्त्रालयले अन्य सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरि आवश्यक प्रकृया थाल्छ’, तिवारीले भने ।  

काठमाडौंमा बजाजको मोटरसाइकल बिक्री गर्दै आएको अर्जुन इन्टरप्राइजेजका अनुसार अहिले एनएस पल्सर २०० सीसीको मूल्य २ लाख ८१ हजार देखि ४ लाख १४ हजार रुपैयाँ सम्म छ । केही महिना अगाडिको तुलनामा यो मूल्य करिब ५ हजारले बढि हो ।  

नेपालको ‘टु ह्विलर्स’ बजारमा बजाजको हिस्सा करिब ६० प्रतिशत रहेको गोल्छा ग्रुपले आफ्नो वेबसाइटमा दाबी गरेको छ । राज्यबाट भन्सारमा छुट लिएर नेपालमै मोटरसाइकल उत्पादन गर्न इजाजत पाएको ग्रुपले ग्राहकलाई भने कुनै शुल्क घटाएको छैन । बजाज कम्पनीका मोटरसाइकल बिक्रेताहरूका अनुसार प्रत्येक ३ महिनामा बजाजका मोटरसाइकलहरुको मूल्य बढ्छ । अत्याधिक बजार माग भएको बजाज कम्पनीका मोटरसाइकलहरुमार्फत गोल्छा ग्रुपले आवश्यकताभन्दा बढि नाफा लिइरहेको देखिन्छ । 

एसेम्बल राजनीतिः 

गोल्छा ग्रुपले एसेम्बल राजनीतिलाई अझै विस्तार गर्दै गएको छ । कोरियन प्रविधिको सामसुङ टेलिभिजनलाई नेपालमा एसेम्बल गर्ने जिम्मा पनि यही कम्पनीले पाएको छ । सामसुङ कम्पनीको टेलिभिजनको नेपालस्थित आधिकारिक विक्रेताको रुपमा गोल्छा ग्रुप नै रहेको थियो । १२ वैशाखमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई नै  प्रमुख अतिथि बनाएर ग्रुपले नवलपरासीको रामग्राममै सामसुङ टिभी एसेम्बल गर्ने उद्योग बनाएको छ । 

गोल्छा ग्रुपले भने राज्यको नीति मै टेकेर आफूहरुले एसेम्बल उद्योग स्थापना गरेको बताएको छ । ‘हामीले नेपालमै विदेशी ब्राण्डका सामाग्रीहरु उत्पादन गरेर रोजगारीको सृजनासँगै अर्थतन्त्रको विकासमा टेवा पुर्‍याएका छौँ,’ गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले भने, ‘सकेसम्म नेपाली ग्राहकलाई सस्तोमा सामान उपलब्ध गराउने हाम्रो योजना हो ।’ गोल्छाले नेपालमै एसेम्बल शुरु भएपछि त्यस्ता उत्पादनहरुको मूल्य समायोजन भएको दाबी गरे । 

तर बजारमा यस्ता उत्पादनहरुको झन् मूल्य बढिरहेको देखिन्छ । ‘आयात गर्ने क्रममा इन्जिन र पार्टपूर्जामै मूल्य बढेको खण्डमा त बजार मूल्य बढि नै हाल्छ । त्यसैमाथि नेपालमा एसेम्बल गर्दा लाग्ने जनशक्ति र लागत खर्च पनि त्यसमा जोडिन्छ,’ गोल्छाले भने, ‘त्यसैले पनि बजार मूल्यमा फरक नदेखिएको लाग्न सक्छ । तर विस्तारै बजारले त्यो कुराको अनुभव गर्नेछ ।’

एसेम्बलका लागि उद्योग दर्ता गरेर भन्सार सुविधा लिने तर बजार मूल्य झन् बढाउने भन्ने कुरा आधारहिन भएको गोल्छाले तर्क गरे । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०८:०३
समसामयिक
Weather Update