News Griha :: न्यूजगृह
रियल जुसमा भेटियो जमेको कालो लेदो, कम्पनी भन्छ– हाम्रो कारणले भएको होइन

काठमाडौं— डाबर नेपालको चर्चित उत्पादन ‘रियल जुस’मा अखाद्य वस्तु भेटिएको छ । जुस पिउने क्रममा बट्टाभित्र केही वस्तु रहेको शंका लागेपछि फुटालेर हेर्दा त्यसभित्र जमेको कालो लेदो भेटिएको हो । 

‘दुई गिलास जुस त पिइहालियो । पछि बट्टा भित्र केही भएजस्तो लागेर फुटालेर हेर्दा घिनलाग्दो कालो जमेको लेदो रैछ,’ रेशम योगी नामक एक टिकटक प्रयोगकर्ताले सो रियल जुसको भिडिओ सामाजिक सञ्जालमा शेयर गरेकी छन् । ‘यस्तो घिनलाग्दो अखाद्य वस्तु मिसिएको जुस खाँदा कस्तो दिगमिग भइरहेको छ,’ योगीले भनेकी छन् । 

उनले टिकटकमा भिडियो शेयर गर्दै रियल जुस कसैलाई पनि नखान सुझाएकी छन् । 

रियल जुस उत्पादक कम्पनीका प्रतिनिधि अभय गोर्खालीले भने भिडिओमा देखिएको समस्या कम्पनीको तर्फबाट नभएको दाबी गरे । ‘हामीले रियल जुसमा कुनै पनि खालको प्रिजर्भेटिभ प्रयोग गर्दैनौँ । र, ट्रान्सपोर्टेसनको क्रममा कतिपय बट्टाहरूमा आँखाले नदेखिने प्वालहरू पर्न सक्छन्,’ गोर्खालीले भने, ‘यस्तो अवस्थामा बट्टाभित्र फङ्गस आउन थाल्छ र कतिपय अवस्थामा जुस नै जमेर लेदो बन्छ ।’

उत्पादनको सवालमा आफूहरू सँधै गुणस्तरमा सचेत रहँदै आएको गोर्खालीले बताए । ‘हामीसँग रियल जुस उत्पादनका लागि विश्वस्तरीय प्रविधि छ । उत्पादनको क्रममा हामीले गुणस्तरको सबै मापदण्ड पूरा गरेका हुन्छौँ,’ उनले भने, ‘दैनिक हजारौँको सङ्ख्यामा उत्पादन हुँदै आएको रियल जुस सबै हिसाबले उपयुक्त भएको प्रमाणित गरेर मात्र बजारमा पठान्छ ।’ बजारमा पठाउने क्रममा भने विभिन्न कारणले जुसको बट्टामा नदेखिने खालका ‘माइक्रो होल’हरू पर्नसक्ने र त्यसैको कारण बट्टामा समस्या आउनसक्ने कम्पनीले जनाएको छ । 

रियल जुसमा यस्ता खाले अखाद्य वस्तु भेटिएको यो पहिलो घटना होइन । यसअघि पनि नेपालका विभिन्न स्थानमा जुस भित्र अखाद्य वस्तुहरू भेटिएका उदाहरणहरू छन् ।

नेपालमा खाद्य उत्पादनका लागि स्वीकृति दिँदै आएको सरकारी संयन्त्र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नै त्यस्ता उत्पादनहरूको गुणस्तरमा नियमन गर्दै आएको छ । 

विभागका प्रवक्ता मोहनकृष्ण महर्जले रियल जुसमा पछिल्लोपटक भेटिएको अखाद्य वस्तुको सन्दर्भमा विभागलाई कुनै जानकारी नआएको बताए । ‘हामीलाई स्पेसिफिक रूपमा कुनै जानकारी आएको छैन । तर, रियल जुसको विषयमा बेलाबखत् यस्ता गुनासोहरू आइरहेकै हुन्छन्,’ महर्जनले भने, ‘यो विषयमा विभागले कम्पनीसँग सोधपुछ गर्छ । यो विषयमा तत्काल अनुगमन गर्छौँ ।’ रियल जुसमा अखाद्य वस्तु भेटिएको र त्यसमा कम्पनीको लापर्बाही भएको भेटिएमा सो कम्पनीलाई कारबाही गर्ने विभागले जनाएको छ । 

विभागका अनुसार कम्पनीको ‘ब्याच’मै समस्या देखिएको खण्डमा ५० हजार रुपैयाँसम्म जरिबाना र सञ्चालकलाई ५ वर्षसम्म कैद सजाय दिन सक्छ । जनस्वास्थ्यमा प्रतिकूल असर गर्नेगरी गुणस्तरमै खेलबाड गरेको भेटिएमा विभागले कम्पनीको लाइसेन्स नै खारेज गर्न सक्ने प्रवक्ता महर्जनले बताए । 

रियल जुस उत्पादक कम्पनी डाबर नेपाल बहुराष्ट्रिय कम्पनी हो । विभागले जतिसुकै ठूला कम्पनीले पनि उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको खण्डमा आफूहरूले आँखा चिम्लेर नबस्ने जनाएको छ । उपभोग गर्ने क्रममा अखाद्य वस्तु भेटिनेमा सबैभन्दा बढी पेय पदार्थहरू नै रहेको विभागले बताएको छ । विभागले हालसम्म करिब २ सय बढी उद्योगहरूलाई अखाद्य वस्तु भेटिएको र त्यसमा प्रत्यक्ष उत्पादक कम्पनीको लापर्बाही भएको भन्दै ती उद्योगहरूको लाइसेन्स रद्द गरिसकेको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १४:४१
Weather Update