News Griha :: न्यूजगृह
न्यूज ब्रिफ: आज दिनभर देशमा के-के भयो ?

काठमाडौं— क्रिकेटको रोमान्चक खेल यात्रामा आज सुदूरपश्चिम रोयल्सको फाइनल यात्रा देखि त्रिविको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइसम्म आज समाचारको केन्द्रमा रहे ।

विनोद भण्डारी भण्डारीको अर्धशतकले सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा पुगेको छ । जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गरेर सुदूरपश्चिम रोयल्स पुगेको हो ।

जनकपुरलाई सजिलै हराउँदै सुदूरपश्चिम फाइनलमा

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्विविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगको प्रतिवेदन बुझ्दै जग्गा हिनामिना गर्ने जो कोही भएपनि कानूनबमोजिम कारबाहीको दायरामा ल्याइने बताएका छन् । उनले आयोगको सिफारिसबमोजिम सरकारले कारबाही अघि बढाउने बताएका छन् ।

'आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने छ। आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिनेछ । हात हालेपछि यसलाई टुङ्गोमा पुर्‍याएरै छाडिने छ,' ओलीको भनाइ छ ।

त्रिविको जग्गा र सम्पत्ति खोजबिन आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन

विवादास्पद व्यापारी दुर्गा प्रसाईंको यतिवेला थुनामा छन् । यिनै प्रसाईंले बैंकविरुद्ध अदालतमा रिट दायर गरेका थिए । उच्च अदालत विराटनगरको इलाम इजलासले मंगलबार उनको रिट खारेज गरिदिएको हो । यससँगै उनले बैंकबाट लिएको ऋण असुल्न बैंकहरूलाई सहज भएको छ । 

दुर्गा प्रसाईंको पूर्वाञ्चल क्यान्सर हस्पिटल लिलाम गर्ने बाटो खुल्यो, बैंकलाई तिरेनन् दुई अर्ब ऋण

राष्ट्रपति रामचन्द्र पौडेलले शंकरप्रसाद शर्मालाई भारतका लागि राजदूत नियुक्त गरेका छन् । त्यस्तै राष्ट्रपति पौडेलले मलेसियाका लागि पनि नेत्रप्रसाद तिम्सिनालाई राजदूतमा नियुक्त गरेका छन् । शर्मा दोस्रो पटक भारतका लागि राजदूत बन्दैछन् । त्यसका लागि भारत सरकारलाई पत्राचार गरिएको ७८ दिनपछि ‘एग्रिमो’ प्राप्त भएको हो ।

 राष्ट्रपतिले गरे भारत र मलेसियाको राजदूत नियुक्त

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  २०:०५
Weather Update