
काठमाडौं— स्वास्थ्य मन्त्रालयले देशभर स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
बिहीबार मन्त्रालयमा पदबहाली गर्दै नवनियुक्त स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले संक्रामक एवम् महामारीको रूपमा रोगहरू फैलन नदिन संघ, प्रदेश र स्थानीय तहसँगको समन्वयमा दातृ निकाय एवम् संस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
त्यस्तै उनले स्वास्थ्य संस्थामार्फत स्वास्थ्य बिमाको सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने निर्णयमा पनि हस्ताक्षर गरेका छन् भने आम नागरकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहहरूमा साधनस्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधासहित चिकित्सकहरूलाई अधिकतम परिचालन गर्ने निर्णय गरेका छन् ।
मन्त्री बस्नेतले संघ प्रदेश र स्थानीय तहमा रहेका अस्पतालको अनुगमन गरी प्रतिवेदन पेश गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति समेत गठन गरेका जानकारी दिए ।