News Griha :: न्यूजगृह
अहिलेको आर्थिक प्रगतिसँग अर्थमन्त्री नै सन्तुष्ट छैनन् 

काठमाडौं— अर्थतन्त्रको अहिलेको अवस्थाबारे आफू सन्तुष्ट नरहेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा उपप्रधानमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुधारमा सांसदहरू जस्तै आफू पनि सन्तुष्ट नरहेको बताए।

अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान गर्दै गएको पनि पौडेलको भनाइ थियो। लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न नसकिने भन्दै अर्थतन्त्र सुधारका लागि केही समय लाग्ने उनले बताए।

‘अर्थतन्त्र समस्यामा छ, केही कठिनाइ छ। यो अस्वीकार गर्नुपर्ने विषय होइन। तर क्रमशः हाम्रा समस्या समाधान हुँदै गएका छन् र सुधारका काममा सफल हुँदै पनि गएका छौँ। लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न सकिँदैन। यसका लागि केही समय लाग्छ, जुन हामीले निरन्तर प्रयास गरिरहेका छौँ। हाम्रो अर्थतन्त्रका केही पक्षहरू राम्रा छन्। विदेशी मुद्राको सञ्चिति राम्रो छ। ब्यालेन्स अफ पेमेन्टको अवस्था राम्रो छ। तरलताको अवस्था राम्रो छ। बैंकको ब्याजदर एकल अंकमा आएको छ। मूल्यवृद्धि नियन्त्रणमा छ। सेयर बजार लगायत अर्थतन्त्रका केही पक्षमा सकारात्मक अवस्था छ,' मन्त्री पौडेलले भने, 'अहिलेको आर्थिक प्रगतिसँग म स्वयं सन्तुष्ट छैन, यहाँहरू पनि हुनुहुन्न। सरकारले अर्थतन्त्र सुधारमा धेरै प्रगति गर्नुछ । समस्याका चाङलाई एक/एक गरेर पन्छाउँदै उपलब्धि आर्जन गर्नुछ। त्यसका लागि सार्थक प्रयास चाल्नु छ।' 

अर्थमन्त्री पौडेलले राजश्व परिचालनका सन्दर्भमा चालु आर्थिक वर्षको चार महिनामा राम्रो रहेको बताए। 'राजश्वको लक्ष्य पूरा गर्न ३०/३१ प्रतिशतको वृद्धि गर्नुपर्छ। तर गत वर्ष १० प्रतिशत वृद्धि भएकामा यो वर्ष ३० प्रतिशत राखेको यथार्थ बिर्सनुहुन्न।

तथापि, हामी यो लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयास गरिरहेका छौँ। राजश्व चुहावट, अनियमितता, अपराधजस्ता गतिविधि नियन्त्रणमा हामी निरन्तर काम गरिरहेका छौँ,’ उनले भने।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १८:२४
Weather Update