News Griha :: न्यूजगृह
फेरि बढ्यो सिमेन्टको मूल्य

काठमाडौं—  बजारमा सिमेन्टको मूल्य फेरि बढेको छ। निर्माण क्षेत्रको सिजन सुरू भएसँगै उद्योगीहरूले सिमेन्टको मूल्य बढाएका हुन्।

पछिल्लो समय प्रतिबोरा ३० देखि ५० रूपैयाँसम्मले सिमेन्टको मूल्य बढेको नेपाल निर्माण सामग्री व्यापार संघ काठमाडौंले जानकारी दिएको छ। संघका अनुसार गत शुक्रबारदेखि लागू हुनेगरी ओपीसी सिमेन्टमा प्रतिबोरा ३० रुपैयाँ र पीपीसी सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँले मूल्य वृद्धि भएको हो।

कात्तिकदेखि सिमेन्ट उत्पादक कम्पनीहरूले सिमेन्टको मूल्य बढाउँदै लगेका छन्। एक महिनाको अवधिमा सिमेन्टमा डेढसय रूपैयाँभन्दा बढी मूल्य वृद्धि भइसकेको छ।

दसैँअघि बजारमा उपभोक्ताका लागि पीपीसी सिमेन्टको मूल्य काठमाडौंमा प्रतिबोरा पाँच सय रूपैयाँदेखि पाँच सय २५ रुपैयाँसम्म थियो। त्यस्तै, ओपीसी सिमेन्ट ६ सयदेखि ६ सय २५ रुपैयाँसम्म थियो।

गत साता शुक्रबारदेखि लागु हुनेगरी पुनः मूल्य बढेपछि अहिले बजारमा पीपीसी सिमेन्टको मूल्य काठमाडौंका ग्राहकका लागि प्रतिबोरा ६ सय ५० रूपैयाँदेखि सात सय रूपैयाँसम्म छ। त्यस्तै, ओपीसी सिमेन्ट सात सय ३० देखि सात सय ८० रुपैयाँसम्म पुगेको छ।

सिमेन्टको मूल्य वृद्धि हुँदा उपभोक्ता मारमा परेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १८:१९
Weather Update