
काठमाडौं— सभामुख देवराज घिमिरेको अभिव्यक्तिलाई लिएर पत्रकार महासंघ, नेपाल प्रेस युनियन र संसदीय मामिका पत्रकार समाजले आपत्ति जनाएका छन् ।
नेपाल पत्रकार महासंघका महासचिव रोशशन पुरीले शनिबार विज्ञप्ति जारी गरि आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभए महासंघ कानुनीलगायतका अन्य दबाबमूलक कार्यक्रमतर्फ अगाडि बढ्ने चेतावनी दिएका छन् ।
यो पनि पढ्नुहोस
महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा शुक्रबार सभामुख घिमिरेले ‘पत्रकारहरू बिक्रिमा छन्’ भनेर अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्ति पदीय हैसियत र मर्यादाविपरित रहेको ठहरसमेत महासंघको छ ।
संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न र नव निर्वाचित सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रममा सभामुखबाट नेपाली सञ्चार क्षेत्रका बारेमा व्यक्त भएको अभिव्यक्तिबाट समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको महासंघले बताएको हो ।

महासचिव पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद छ । सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको थियो । तर, सचिवालयबाट सामान्य प्रष्टीकरणबाहेक उहाँको आधिकारिक धारणा आउन सकेन ।’

यस्तै, सभामुख घिमिरेले दिएको अभिव्यक्तिप्रति नेपाल प्रेस युनियन र संसदीय मामिला पत्रकार समाजले गम्भीर ध्यानाकर्षण गराएको छ । उनीहरूले सभामुखबाट समग्र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने गरि विचार अभिव्यक्त भएको बताएका छन् ।















