
काठमाडौं — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको टिप्पणी गरेका छन् । शुक्रबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफूमा यस्तो मान्यता रहेको बताएका हुन् ।
सभामुख घिमिरेले ‘थर्काएर, किनेर, फकाएर विग हाउस’हरुले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरुलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरेको बताए । मुलुकमा पित पत्रकारिता निकै डर लाग्दो गरी देखा परेको सभामुख घिमिरेको बुझाइ छ । उनले पत्रकारहरुले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए ।
सभामुख घिमिरेले सरकार र पत्रकारहरुबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताए । उनले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरुले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराए, ‘पत्रकारहरु जति जिम्मेवारीसाथ पत्रकारिता गर्नु पर्दथ्यो । अन्यथा नलिनुहोला । यो पत्रकार महासंघ हो, त्यो खालको छैन होला । पीत पत्रकारिता अहिले पनि निकै डर लाग्दो गरी छ । जेजे कारणले भएपनि तिनीहरु प्रभावित छन । अझ अर्को भन्ने हो भने त बिक्रीमा छन पत्रकारहरु । अब पत्रकारहरु बिक्रीमा छन ।’
सभामुख भन्छन्, ‘संघ विक्रीमा छ भन्यो सभामुखले भन्लान कि भनेर मैले यसलाई रोकिरहनु पर्दैन । र, त्यो भन्नु पनि हुँदैन तपाईहरुले । किन यो त हाम्रो आफ्नो भित्री कुरा हो नि । त्यसको प्रभाव चाहिँ कुनै न कुनै रुपमा परिरहेको छ । विग हाउसहरुले प्रभावित पारेको छ । थर्काएर गरेको छ । किनेर गरेको छ । फकाएर गरेको छ । अनेक ढंगबाट गरेको छ । त्यसको प्रभाव हाम्रो सोसाईटीमा निकै परेको छ ।’













