काठमाडौं — मंगलबार शेयर बजारको परिसूचक नेप्से १७.८० अंक बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २७७५ अंकमा कायम भएको छ। परिसूचक बढ्दा कारोबार रकम घटेको छ। अघिल्लो दिन १० अर्ब ५४ करोडको कारोबार भएकोमा यस दिन ८ अर्ब ५२ करोडको भयो।
१४२ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने ५ को स्थिर रह्यो। फाइनान्स १.३९, हाइड्रोपावर १.८५, जीवन बीमा १.५२, उत्पादन ०.०६, व्यापार ५.९६ र अन्य समूह ०.२७ प्रतिशत बढे। बैंकिङ ०.१९, विकास बैंक ०.३७, होटल तथा पर्यटन १.७१, लगानी ०.४१, माइक्रोफाइनान्स ०.३२ तथा निर्जीवन बीमा समूह ०.५२ प्रतिशत घटे।
४ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो। दिव्यश्वरी हाइड्रोपावर, इङ्वा हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो। ङादी ग्रुप पावरको ८.६, शिवश्री हाइड्रोको ८.१ तथा छ्याङ्दी हाइड्रोको ७.३ प्रतिशत मूल्य बढ्यो।
अघिल्लो दिनसम्म १० प्रतिशत मूल्य बढिरहेको विशाल बजार कम्पनीको यस दिन ६.४ प्रतिशत बढ्यो। सो कम्पनीको मूल्य प्रतिकित्ता ७ हजार १५ रुपैयाँ पुगेको छ।
त्यस्तै अपर स्याङ्गे हाइड्रोपावरको ९.५, जानाकी फाइनान्सको ६.१, गुराँस लघुवित्तको मूल्य ३.४ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा ङादी ग्रुप, जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, बेस्ट फाइनान्स र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे।