काठमाडौं — बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
गत जेठ ३२ गते गोली प्रहार गरी हत्या गरिएको सो घटनामा संलग्न मुख्य अभियुक्तलाई बारा प्रहरीले गएराति पक्राउ गरेको हो। घाइते कुशवाहाको उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो।
आदर्श कोतवाल नगरपालिका वडा नम्बर–२ स्थितको घरबाट फर्किने क्रममा गोली प्रहार गरीको कुशवाहाको हत्या गरिएको थियो। त्यसबेलादेखि फरार मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए।
गोली लागेपछि क्याम्पस प्रमुख कुशवाहा त्यही बेला मृत्युकालीन घोषणा गरेका थिए। गोली प्रहारबाट घाइते भएपछि कुशवाहाले त्यसबखत सर्वसाधारणबाट भिडिओ रेकर्ड गर्न लगाएका थिए।
जहाँ उनले भनेका थिए, ‘गाउँकै सुरेन्द्र कुशवाहाले आफूमाथि गोली प्रहार गरेको छ, व्यक्तिगत रिसिबीका कारण गोली प्रहार गर्यो।’ यही मृत्युकालीन भिडिओलाई आधार मानेर प्रहरीले मुद्दा दर्ता गरी खोजविन सुरु गरेको थियो। कुशवाहा सेनाका पूर्व जवानसमेत हुन्।