काठमाडौं — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रंक लाइनबाट बिजुली लिएर महसुल नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न, शेयर कारोबार रोक्का गर्न र शेयर जारी गर्ने अनुमति रोक्का गर्न सम्बन्धित निकायलाई पत्राचार गरेका छन्।
कार्यकारी निर्देशक घिसिङले विद्युत् प्रिमियम महसुल बक्यौता रहेका उद्योगका सम्बन्धमा बुधबार नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय र धितोपत्र बोर्डलाई पत्र पठाएका हुन्। बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई, शेयर रोक्का गर्न कम्पनी रजिष्ट्रारको कार्यालय र शेयर जारी गर्न अनुमतिमा रोक लगाउन धितोपत्र बोर्डलाई घिसिङले पत्र पठाएका हुन्।
त्यसरी नतिर्ने उद्योगको सूची ती निकायलाई पत्रसँगै पठाइएको प्राधिकरणले जनाएको छ। सबैभन्दा बढी बक्यौता जगदम्बा स्टिलको रहेको छ। उसले प्राधिकरणलाई १ अर्ब ६० करोड १८ लाख रकम तिर्न बाँकी छ।
त्यस्तै, मारुती सिमेन्टले ५७ करोड ४४ लाख, अर्घाखाँची सिमेन्टले ४४ करोड ८४ लाख महसुल तिर्न बाँकी छ भने रिलायन्स स्पिनिङ मिलले ७५ करोड ३६ लाख रकम तिर्न बाँकी छ।