काठमाडौं — साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारका सबै सूचक घटेका छन्। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१.३१ अंक घटेको छ। सो अंकको कमीपछि २६८० मा कायम भएको छ।
त्यस्तै कारोबार रकम सामान्य बढेको छ। अघिल्लो दिन ७ अर्ब ९ करोडको कारोबार भएकोमा आज ८ अर्ब २५ करोडको भयो। कुल ४३ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ४ को स्थिर रह्यो।
फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.८६ प्रतिशत घट्यो। बैंकिङ ०.९०, विकास बैंक १.४७, होटल तथा पर्यटन १.७३, हाइड्रोपावर ०.९०, लगानी ०.९०, जीवन बीमा १.३६, उत्पादन १.५४, माइक्रोफाइनान्स ०.६८, निर्जीवन बीमा १.१६, अन्य १.६७ र व्यापार समूह ०.९८ प्रतिशत घटे।
दुई कम्पनी सामुदायिक लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो। माहुली लघुवित्तको ६.११, धौलागिरि लघुवित्तको ५.४९ तथा रिभर फल्स पावरको ५.३३ प्रतिशत बढ्यो।
जानकी फाइनान्सको मूल्य १० प्रतिशत घट्यो। नारायणी विकास बैंकको ७.२६, सुपरमाइ हाइड्रोपावरको ७.१४, सपोर्ट माइक्रोफाइनान्सको ७ प्रतिशत मूल्य घट्यो।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स, ङादी ग्रुप पावर, रसुवागढी हाइड्रोपावर, हिमालय ऊर्जा विकास कम्पनी र कर्णाली विकास बैंक क्रमशः अगाडि रहे।