पाल्पा— रामपुर नगरपालिका–६ स्थित प्याक्लुककी गङ्गा बस्यालले २०७२ देखि व्यावसायिक तारकारी खेती गर्दै आएकी छन्। करिब १२ रोपनी क्षेत्रफलमा गरेको तरकारी खेतीबाट उनले वार्षिक सात लाख आम्दानी गर्दै आएकी छन्।
आजभन्दा एक दशकअघि तरकारी खेतीबाट जीविकोपार्जन होला भन्नेमा बस्याल विश्वस्त हुन सकेकी थिइनन्। सदरमुकाम तानसेनबाट टाढा रहेको रामपुर बजार ग्रामीण सहरका रुपमा मानिन्छ। तरकारीले बजार नपाए नोक्सानी हुने चिन्ताका बीच उनले व्यवसाय विस्तार गर्दै जाने योजनासहित तरकारी खेतीमा लागिन्।
अहिले तरकारीखेतीले बजार पाएपछि यसबाटै जीविकोपार्जन भइरहेको बस्यालले बताइन्। वार्षिक रुपमा सबै खर्च कटाएर तरकारी बिक्रीबाट सात लाख आम्दानी हुने गरेको उनले जानकारी दिइन्।
उनी स्थानीय बजारको अवस्था र ग्राहकको माग अनुसार तरकारी लगाउने गर्छिन्। यहाँ आलु, काउली, बन्दा, गोलभेँडालगायत जातका तरकारीले राम्रो बजार पाउने भएपछि सो जातका तरकारी उत्पादनमा जोड दिने गरेकी छन्।
बस्यालले हाल १२ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी छन्। दश रोपनी जग्गा १० वर्षका लागि वार्षिक ५० हजार बुझाउने गरी भाडामा लिएको र स्थानीय बजारमा तरकारीको खपत हुन थालेपछि व्यवसाय विस्तार गरी १२ रोपनी पु¥याएको उनले बताइन्।
तरकारी खेतीबाट परिवारको सबै खर्च र छोराछोरीको पढाइ खर्चसमेत व्यवस्थापन हुँदै आएको बस्यालले बताइन्।ठूला शहर तथा बजार पुग्ने सडक जोडिए पनि पक्की र व्यवस्थित सडक नहुँदा, रामपुर गाउँ भएकाले बजार सानो हुनसलगायत कारणले केही समस्या भने हुने उनको भनाइ छ।
‘भविष्यमा यो व्यवसायले आयआर्जनको बलियो माध्यम बनाउन सकिन्छ भन्ने सोचका साथ तरकारीखेती सुरु गरेँ, तरकारीबाट सोचेजस्तै आम्दानी भइरहेको छ,’ बस्यालले भनिन्, ‘हाम्रो परिवारको जीविका राम्रैसँग चलेको छ, यस व्यवसायबाट हामी सन्तुष्ट छौँ।’
पहिले स्याङ्जाको वालिङ, गल्याङलगायत विभिन्न बजारमा लगेर तरकारी बिक्री गरेको स्मरण गर्दै उनले अहिले भने उत्पादित तरकारीले रामपुरमा नै खपत भइरहेको जानकारी दिइन्।