News Griha :: न्यूजगृह
बिटक्वाइनको मूल्य हालसम्मकै उच्च

काठमाडौं— अमेरिकको ४७औं राष्ट्रपतिमा डनल्ड ट्रम्प निर्वाचित भएसँगै बिटक्वाइनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

बुधबार कारोबार क्रममा बिटक्वाइनको भाउ ७४ हजार ७ सय ८६ अमेरिकी डलरसम्म पुग्यो। साँझ साढे ५ बजे यो ७४ हजार २ सय १० डलर हाराहारीमा कारोबार भएको छ। बुधबार एकै दिन बिटक्वाइनको मूल्य ७ प्रतिशत बढेको हो।

अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित हुने निश्चित भएपछि बिटक्वाइनको मूल्यमा उच्च वृद्धि देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यसअघि ट्रम्पले अमेरिकालाई ‘बिटक्वाइन र क्रिप्टोकरेन्सीको राजधानी बनाउने’ र टेक (प्रविधि) अर्बपति इलन मस्कलाई सरकारी फोहोरको व्यापक अडिटको जिम्मा दिने वाचा गरेका छन्।

यही कारण बिटक्वाइनको मूल्यले रेकर्ड बनाएको विश्लेषण गरिएको छ। टेक अर्बपति मस्कले ट्रम्पको साथ लिएर क्रिप्टोलाई बढावा दिने अनुमान छ। यसअघि ट्रम्प र रिपब्लिकन पार्टीले क्रिप्टोकरेन्सीलाई पूर्णरूपमा समर्थन गरेका थिए। यसले उच्च लगानी तथा आर्थिक सहयोग समेत जुटेको थियो।

बिटक्वाइन मात्रै नभई अन्य क्रिप्टोकरेन्सीको पनि मूल्य बढेको छ। दोस्रो ठूलो क्रिप्टो इथरियमको मूल्य करिब ७ प्रतिशतले बढ्यो भने तेस्रो ठूलो क्रिप्टो सोलाना करिब १५ प्रतिशत बढ्यो।

अर्थशास्त्री तथा एशो क्यापिटलका संस्थापक पिटर एशोले भने, ‘बजारहरू पछि के हुन्छ बिश्लेषकहरूले पत्ता लगाउने कोसिस गरिरहेका छन् तर केही समयका लागि, बजारले उच्च मूल्य वृद्धि निर्धारण गरिरहेको छ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १९:१८
Weather Update