News Griha :: न्यूजगृह
नेपालीहरूमा सुनचाँदीका सिक्काप्रतिको मोह अचाक्ली, तिहारमा साढे १९ करोडको सिक्का बिक्री
तस्बिर क्रेडिटः नेपाल फोटो लाइब्रेरी

काठमाडौं— यस वर्षको तिहारमा मात्र साढे १९ करोडभन्दा बढी मूल्यका सुन र चाँदीका सिक्का (असर्फी र मेडालियन) बिक्री भएका छन् । नेपाल राष्ट्र बैंकले बबरमहलस्थित टक्सार विभागबाट यही कात्तिक ११ देखि १४ सम्म चाँदीका र कात्तिक १३ मा एक दिन मात्र असर्फी बिक्री गरेको थियो ।

उल्लिखित रकम सोही अवधिमा बिक्री भएका सुन र चाँदीका सिक्काको हो । असर्फी बनाउन आवश्यक उच्च गुणस्तर (९९९.९९ टच) को सुन अभाव भएको भन्दै राष्ट्र बैंकले धनतेरसको अवसरमा एक दिन मात्र सुनको सिक्का बिक्री गरेको थियो । कात्तिक १३ मा ४ हजार ३ सय ८५ थान अथवा १६ करोड १६ लाख ५३ हजार २५ रुपैयाँ बराबरको असर्फी बिक्री गरिएको राष्ट्र बैंक टक्सार विभागले जनाएको छ ।

२.५ ग्रामको असर्फी प्रतिथान ३६ हजार ८ सय ६५ रुपैयाँमा बिक्री गरिएको थियो । प्रतिव्यक्ति एक थानका दरले एक दिन मात्र उक्त असर्फी बिक्री गरिएको थियो । विगतका वर्षमा २.५, ५ र १० ग्रामका असर्फी बिक्री गर्दै आएको राष्ट्र बैंकले यस वर्ष २.५ ग्रामको मात्र असर्फी बेचेको थियो ।

राष्ट्र बैंकले चाँदीका सिक्का भने चार दिन (गत आइतबारदेखि बुधबारसम्म) बिक्री गरेको थियो । उक्त अवधिमा कुल १६ हजार ७ सय ४० थान ३ करोड ५१ लाख ७ हजार ६ सय रुपैयाँ बराबरका चाँदीको सिक्का बिक्री भएका छन् । यसअनुसार गत आइतबार १ हजार ३ सय ६२, सोमबार २ हजार ९ सय ५१, मंगलबार ८ हजार ५ सय १६ र बुधबार ८ हजार ५ सय १६ थान असर्फी बिक्री भए । राष्ट्र बैंकले विभिन्न भगवान् र जनावर अंकित चाँदीका सिक्का बिक्री गर्दै आएको छ । यसअनुसार लक्ष्मी अंकित मेडालियन, गणेश अंकित, गजलक्ष्मी अंकित, गाई अंकित २५ ग्राम र गाई अंकित १० ग्रामका सिक्का बिक्री गर्दै आएको छ ।

गत मंगलबार मात्र लक्ष्मी अंकित मेडालियन ३ हजार ३ सय थान (५७ लाख ५७ हजार ४ सय रुपैयाँ), गणेश अंकित मेडालियन २ हजार ६ सय थान (३९ लाख ३५ हजार ५ सय रुपैयाँ), गजलक्ष्मी अंकित मेडालियन २ हजार ९ सय थान (३७ लाख ३७ हजार ८ सय रुपैयाँ), गाई अंकित मेडालियन २५ ग्रामको २ हजार ३ सय थान (६९ लाख ४ हजार रुपैयाँ) र गाई अंकित मेडालियन १० ग्रामका २ हजार ५ सय थान (२५ लाख १४ हजार ६ सय रुपैयाँ) सिक्का बिक्री भएका थिए ।

नेपाल राष्ट्र बैंकको टक्सार विभागले सुनचाँदीका सिक्का पनि सर्वसाधारणलाई वितरण गर्दै आएको छ । तर नोटको माग दसैंमा धेरै भएजस्तै सुन र चाँदीका सिक्काको माग तिहारमा धेरै हुने राष्ट्र बैंकका अधिकारी बताउँछन्  । एक वर्षमा राष्ट्र बैंकबाट बिक्री हुने सुन र चाँदीका सिक्कामध्ये ९० प्रतिशतभन्दा बढी तिहारका बेला बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।

नेपालीहरूमा सुन र चाँदीका सिक्काप्रतिको मोह अचाक्ली देखिन्छ । गत वर्ष तिहार र धनतेरसको समयमा मात्र सुन र चाँदीका गरी करिब ४३ हजार थान सिक्का बिक्री भएका थिए । सुनको बजार मूल्यका आधारमा असर्फीको मूल्य तोकिन्छ । बजारमा सुनका गहना खरिद गरेजस्तै राष्ट्र बैंकबाट असर्फी खरिद गर्न सकिन्छ ।

बजारमा सुनचाँदी पसलमा पनि असर्फी बिक्रीका लागि राखिएको हुन्छ । तर राष्ट्र बैंक सरकारी निकाय भएकाले गुणस्तरमा विश्वस्त हुन सकिन्छ । यसकारण सर्वसाधारण राष्ट्र बैंकबाटै असर्फी खरिद गर्न रुचाउँछन् । सुनको बजार मूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको हुन्छ । व्यक्तिलाई असर्फी बिक्री गर्दा राष्ट्र बैंकले सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम ३ सय रुपैयाँ थप गरी दैनिक मूल्य तय गर्छ । तर संस्थाको हकमा प्रतिग्राम ५ सय रुपैयाँ थप हुने राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकले चाँदीको सिक्का पनि बनाएर बिक्री गर्दै आएको छ । ती सिक्कालाई मेडालियन र स्मारिका नाम दिइएको छ । ती सिक्का चाँदी र किप्रोनिकल (तामा र निकल मिश्रण गरिएको) बाट पनि बनाइन्छ । मेडालियन भन्नाले आभूषण, सजावट, धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले टकमारी (निर्माण) गरिने सिक्का हो । गत वर्षको तुलनामा यस वर्ष राष्ट्र बैंकले चाँदीका सिक्काको मूल्य केही बढाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  ०८:१२
Weather Update