News Griha :: न्यूजगृह
अधिकांश चर्चित एपले प्रयोगकर्ताको डेटा संकलन र बिक्री गर्ने खुलासा

काठमाडौं— फेसबुक, म्यासेन्जर, टिन्डर, बम्बलजस्ता विश्वका सर्वाधिक चर्चित एपमध्ये ७४ वटाले आफ्ना प्रयोगकर्ताको राजनीतिक एवं धार्मिक आस्थासम्बन्धी डेटा संकलन गर्ने एक अध्ययनले पुष्टि गरेको छ । तीमध्ये २१ प्रतिशतले यस्ता सूचना तेस्रो पक्षलाई बेच्ने गरेका छन्। 

इन्कग्निटो नामक डेटा सुरक्षाको क्षेत्रमा काम गर्ने संस्थाले गरेको अध्ययनअनुसार सबैभन्दा धेरै डेटिङ एपले प्रयोगकर्ताको विवरण संकलन गर्ने गरेका छन्। त्यसपछि सपिङ एपहरू पनि यसमा अगाडि रहेको अध्ययनमा देखिएको छ। मेडिकल एप, बुक्स एन्ड रिफरेन्स, बिजनेस र फाइनान्स एपले समेत प्रयोगकर्ताको डेटा संलकन गर्ने गरेको पाइएको छ।

एपहरूले प्रयोगकर्ताका डेटा कसरी व्यवस्थापन गर्छन् भन्ने जटिल र अक्सर विवादित विषयलाई यस अध्ययनले उजागर गरेको इन्कग्निटोले जनाएको छ। अमेरिकी चुनाव छेकको सार्वजनिक भएको यस अध्ययन प्रतिवदेनले एपहरूले संकलन गर्ने डेटाहरूमा सामान्य लग विवरण मात्रै नभएर तिनले व्यक्तीको भ्वाइस रेकर्डिङदेखि यौनिक झुकाव, राजनीतिक र धार्मिक आस्थाजस्ता संवदेनशील विवरणसमेत हुने गरेको जनाएको छ।

‘यसले प्रयोगकर्ताको गोपनीयता र सुरक्षामा असाध्यै ठूलो जोखिम निम्त्याउन सक्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘आउँदै गरेको चुनावलाई ध्यानमा राखेर अमेरिकामा अहिलेको अत्यन्तै ध्रुवीकृत राजनीतिक माहोलमा धेरै व्यक्तिहरूले आफ्ना राजनीतिक/धार्मिक आस्था र अन्य संवेदनशील विवरण गोप्य राख्न चाहेका हुनसक्छन्। यस्तोमा डेटा सार्वजनिक हुनु लोकतान्त्रिक निर्वाचन प्रणालीका लागि जोखिमपूर्ण हुनसक्छ, जसरी यसअघि पनि भएको थियो।’

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा भएको डेटा दूरुपयोगको स्मरण गर्दै इन्कग्निटोले यो अध्ययन अघि बढाएको जनाएको छ। त्यो बेला रुसी कम्पनी ‘इन्टरनेट रिसर्च एजेन्सी’ले अफ्रिकी-अमेरिकीहरूलाई मताधिकारबाट वञ्चित राख्न व्यापक अभियान सञ्चालन गरेको थियो। त्यस्तै, सन् २०१८ मा बाहिर आएको क्याम्ब्रिज एनालिटिका- फेसबुक डेटा स्क्यान्डलले पनि करिब ८ करोड ७० लाखभन्दा धरै अमेरिकी फेसबुक प्रयोगकर्ताहरूको व्यक्तिगत डेटा अनधिकृत रूपमा संकलन गरी राजनीतिक उद्देश्यमा प्रयोग गरिएको खुलासा गरेको थियो।

एपहरूले प्रयोगकर्ताका विवरण संकलन गरेर तेस्रो पक्षलाई दिने वा त्यस्ता विवरणमा ह्याकरले पहुँच बनाउन सक्ने जोखिम त छँदै छ, डेटा संकलन गर्दा डेटा ब्रिचको जोखिम सँदैव रहने भएकाले यसमा एपहरू गम्भिर हुनुपर्ने अध्ययनको निचोड छ।

‘प्रयोगकर्ताका अतिवैयक्तिक विवरण व्यवस्थापनको विषयमा एपहरू पारदर्शी र जवाफदेही हुनुपर्छ,’ अध्ययनको सुझाव छ, ‘व्यक्ती र राष्ट्रिय स्वार्थ दुवैको उचित संरक्षण हुने गरी एपहरूले गोपनीयता नीतिमा प्रशस्त सुधार गर्न आवश्यक छ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १७:४४
Weather Update