काठमाडौं— छानबिन समितिले असोज दोस्रो हप्ता धादिङको धुनीबेँसी नगरपालिका–९ झ्याप्लेखोलाको पहिरोमा ठूलो मानवीय क्षति हुनुमा धादिङ प्रशासनको लापरबाही भएको निष्कर्ष निकालेको छ।
असोज ११ र १२ वर्षासँगै आएको पहिरोले राजमार्गमा रोकिएका गाडीहरू पुरिँदा ३५ जनाको ज्यान गएको थियो। घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी सिद्धि बिक्रम शाहको नेतृत्वमा समितिले गठन गरेको थियो।
समितिले घटनास्थलको अवलोकन गर्नुका साथै स्थानीय र सवारी साधनसँग सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गरेको थियो। अब प्रतिवेदनलाई अन्तिम रूप दिएर बुझाउने तयारी गरिएको समितिका एक सदस्यले बताए।
ती सदस्यका अनुसार झ्याप्लेखोलामा ठूलो मानवीय क्षति हुनुमा धादिङ प्रशासनको कमजोरी देखिएको छ। भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको सूचनालाई गम्भीर रुपमा लिएर प्रतिकार्यको काम नगरेको पाइएको उनले बताए।
‘मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनालाई लिएर कुनै छलफल तथा कार्य योजना समेत बनाएको देखिएन। सूचनालाई गम्भीर रुपमा लिएर काम नगर्दा ठूलो मानवीय क्षति भएको देखिन्छ,’ ती सदस्यले भने।
त्यतिबेला धादिङको प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा राजेन्द्रदेव पाण्डे थिए भने एसपीमा गौतम केसी थिए। सीडीओकै नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समिति रहन्छ। तर ठूलो वर्षा आउने पूर्व जानकारी हुँदाहुँदै सीडीओ पाण्डेले छलफल डाकेर प्रतिकार्यको काम नगरेको समितिले निष्कर्ष निकालेको छ।
त्यसैगरी सीडीओ र प्रहरी प्रमुखबीच कुनै समन्वय समेत नभएको समितिले बताएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नारायणगढ–मुग्लिन हुँदै नागढुङ्गासम्म सवारी चलाउन रोक लगाउने सूचना समेत जारी गरेको थियो। तर धादिङ प्रशासनले राजमार्गमा सवारी चलाउन रोक लगाएन।
अनि, गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस, चितवनबाट काठमाडौं आउँदै गरेको बा २ ख १३४५ नम्बरको माइक्रो र लु १ ज ४५७७ नम्बरको जीपलाई पहिरोले झ्याप्लेखोलामा पुरियो।
घटना लगत्तै सीडीओ पाण्डे र एसपी केसीको जिम्मेवारी खोसिएको थियो। उनीहरूलाई जिम्मेवारीबाट हटाउँदै सीडीओमा सुमन घिमिरे र एसपीमा दीपेन्द्र शाहीलाई पठाइएको थियो।
छानबिन अन्तिम चरणमा पुगेको केही दिनमै प्रतिवेदन बुझाउने तयारी समितिको छ।