News Griha :: न्यूजगृह
झिनिया बेचेर दसैँतिहारमा मात्रै कमाउँछन् पाँचदेखि सात लाख

पाल्पा— पाल्पा रामपुर नगरपालिकाका झिनिया व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठ एक दशकदेखि झिनिया व्यवसायमा छन्। त्यतिबेला रामपुरमा झिनिया व्यवसाय गर्ने उनीहरू नै पहिलो व्यवसायी थिए।

चाडवाड नजिकिन थालेपछी झिनियाको माग थेगिसाध्य हुँदैन। माग अनुसारको उत्पादन बढाउन चाडवाडको समयका लागि मात्रै भनेर कामदारहरू थप्छन्।

तिहार नजिकिँदै गर्दा कामदार थपेर ९ जना पुर्‍याएको रुद्रनारायण बताउँछन्। आफू पनि काम गर्छन्। बिहानदेखि साँझसम्म भ्याइनभ्याइ हुन्छ। झिनियाँ खरिद गर्न व्यापारी र ग्राहक उनको घरसम्मै पनि आउँछन्।

'भ्याइनभ्याइ छ। माग धान्न उत्पादन बढाएका छौं। व्यापार राम्रो भइरहेको छ,' रूद्रनारायणले भने।

उनको व्यवसाय विशेषगरी दसैँ तिहार लक्षित हुन्छ। अरू बेला त्यति धेरै भ्याइनभ्याइ हुँदैन। दसैँतिहारका लागि एकदुई महिनादेखि नै झिनियाँ बनाउने र त्यसलाई भण्डारण गरेर राखिने उनले बताए।

रूद्रनारायण रामपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पनि हुन्। झिनियाँ व्यवसायमा राम्रै आम्दानी हुने भएपछि अहिले रामपुरमा अरू मानिसहरू पनि त्यसमा लागेका छन्। अरूहरू पनि व्यवसायमा लागेको देखेर आफूलाई खुशी लागेको रूद्रनारायण बताउँछन्।

रूद्रनारायणले विभिन्न सहर जाँदा थाहा पाएका थिए झिनियाको बिक्री राम्रै हुन्छ भन्ने कुरा। तर कसरी बनाइन्छ भन्ने थाहा थिएन। सुरुमा हाते मेसिन ल्याए र जानीनजानी बनाउन थाले।

व्यवसाय क्रमशः फस्टाउन थालेपछी क्रमिक रूपमा उद्योगको रूपमा विकास गर्दै गए। अहिले दुई वटा विद्युतीय मेसिन छ जुन बिहानदेखि साँझ अबेरसम्म चल्छ। त्यसबाट एक दिनमा एक हजारभन्दा बढी झिनिया उत्पादन हुने उनी बताउँछन्।

उत्पादित झिनियाँ दुई दिनको पूरा घाममा सुकाइएपछि  खानयोग्य हुने उनले बताए। झिनयासँगै रुद्रनारायण कालिका सिन्के चाउचाउ उद्योगसमेत चलाउँदै आएका छन्। आफ्नै घरमा उनले २०६३ देखि चाउचाउ उद्योग सञ्चालन गरिरहेका छन्।

झिनिया खुद्रा मूल्य प्रतिकिलोको सय रुपैयाँ र थोक मूल्य ९० रुपैयाँमा धमाधम बिक्री भइरहेको रूद्रनारायण बताउँछन्।

उनले उत्पादन गरेको झिनियाँ  पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरलगायतका विभिन्न बजार तथा ग्रामीण भेगमा पुग्छ। स्थानीय व्यापारी तथा ग्राहक घरमै आएर खरिद गरेर लैजाने गरेका छन्। आफूहरूले उत्पादन गरेको  झिनिया गुणस्तरीय, लामो समयसम्म राख्दा पनि नबिग्रने, खाँदा स्वाद राम्रो पाएपछि निकै टाढा–टाढाबाट ग्राहकहरु आउनले उनले बताए।

दसैँ तिहारमा मात्रै पाँचदेखि ७ लाख बराबरको  झिनियाँ बिक्री हुने लक्ष्मी बताउँछिन्।

उनी यो व्यवसाय अझै महिलाका लागि आयआर्जनको बलियो माध्यम हुनसक्ने बताउँछिन्। व्यवसायमा आबद्ध भएपछि आफू आत्मनिर्भर भएको उनले सुनाइन्। गृहिणी महिलाहरूले बिहान साँझ घरको काम सकेर दिउँसोको समय झिनिया उत्पादन गरेर आयआर्जन गर्न सक्ने र सानो लगानीमा पनि गर्न सकिने लक्ष्मी बताउँछिन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  ११:१०
समसामयिक
Weather Update