News Griha :: न्यूजगृह
डेङ्गुको ‘हट स्पट’ बन्दै तनहुँको व्यास नगरपालिका

तनहुँ— तनहुँको सदरमुकामस्थित व्यास नगरपालिका डेङ्गु सङ्क्रमणको ‘हट स्पट’ बन्दै गएको छ। पछिल्लो दुई हप्तामा नगरपालिका क्षेत्रभित्र डेङ्गु सङ्क्रमण ह्वात्तै बढेको छ।

स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा व्यास नगरपालिकामा १ हजार ५ सय ७२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।

नगरपालिका क्षेत्रमा पछिल्लो हप्ता ६ सय ८४ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताए। गत असोज १५ मा नगरपालिकामा ८ सय ८८ जनामा डेङ्गु पुष्टि भएकामा कात्तिक ३ सम्म १ हजार ५ सय ७२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।

‘गत असोज दोस्रो साता परेको झरीसँगै जिल्लाको सदरमुकामस्थित व्यास नगरपालिकामा डेङ्गु सङ्क्रमणको ग्राफ दैनिक बढ्दै गएको छ,’ उनले भने, ‘गत वर्ष व्यास नगरपालिका क्षेत्रमा महामारीकै रूपमा डेङ्गु सङ्क्रमण फैलिएको थियो। यस वर्ष पनि पछिल्लो दुई हप्ता डेङ्गु सङ्क्रमण असामान्य रूपमा फैलिन थालेको छ।’

जिल्लामा गत असार पहिलो सातादेखि हालसम्म ४ हजार ५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ भने एक जना पुरुषको मृत्यु भएको छ। असार महिना लागेलगत्तै आँबुखैरेनी गाउँपालिकाको आँबुखैरेनी बजार क्षेत्रमा डेङ्गु सङ्क्रमण फैलिएको थियो। दैनिक एक सय बढीको संख्यामा सङ्क्रमण फैलिँदा जनजीवन प्रभावित हुन पुगेको थियो।

जिल्लाका १० वटै पालिकामा डेङ्गु सङ्क्रमण देखिएको छ। शुक्लागण्डकी नगरपालिकामा पनि ४ सय ४०, बन्दीपुर गाउँपालिकामा १ सय ८५, भानु नगरपालिकामा ४४, देवघाट गाउँपालिकामा ६३, भीमाद नगरपालिकामा ६१, म्याग्दे गाउँपालिकामा ४२, ऋषिङ र घिरिङ गाउँपालिकामा ४–४ र अन्य जिल्लाका २९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले बताए।

दसैंअघि ३–४ दिन लगातार परेको झरीले गर्दा डेङ्गु सङ्क्रमण फैलिएको अनुमान गरिएको दमौली अस्पतालका प्रमुख परिवर्तन बरालले बताए। ‘झरीका कारण सुख्खा ठाउँमा रहेका लार्भा लामखुट्टेमा परिवर्तन भए र तिनैको टोकाइबाट डेङ्गु फैलिन पुग्यो,’ उनले भने, ‘अहिले दमौली बजार क्षेत्रमा दैनिक डेङ्गु सङ्क्रमितको ग्राफ बढ्दै गएको छ।’

यस्तै व्यास नगरपालिकामा दैनिक सङ्क्रमितको संख्या बढ्दै गएपछि नगर प्रमुख बैकुण्ठ न्यौपानेले नगरबासीलाई सचेत र सावधानी अपनाउन आग्रह गरेका छन्। ‘डेङ्गु सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु पर्छ, त्यसैले आफ्नो घर वरपरका खाल्डाखुल्डीमा पानी जम्न नदिनुहोला,’ उनले भने, ‘नगरपालिकाले डेङ्गु सङ्क्रमणको लक्षण देखिएकाहरूको परीक्षण र उपचारको सहज व्यवस्थापन मिलाइएको छ।’

स्वास्थ्यमा गम्भीर समस्या देखिएमा थप उपचारका लागि स्वास्थ्य संस्थामा लैजानका लागि नगरपालिकाले एम्बुलेन्स र उपचारको व्यवस्थासमेत मिलाएको हुँदा सबै नगरवासीलाई सचेत र सावधानी अपनाउन पनि नगर प्रमुख न्यौपानेले आग्रह गरेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १५:०८
Weather Update