News Griha :: न्यूजगृह
दल फुटाउन सरकारले अध्यादेश ल्याउन लागेको प्रतिपक्षी दलहरूको आशंका

काठमाडौं— प्रतिपक्षी दलहरूले सरकारले दल फुटाउन अध्यादेश ल्याउने तयारी गरेको आशंका व्यक्त गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाएको विपक्षी दलहरूको बैठकमा उक्त विषयमा ‘गम्भीर छलफल’ भएको हो। 

बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर सरकारमै रहेका साना दलसमेत फुटाउन लागेको भन्ने आशंका आफूहरूलाई लागेको बताए। बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै श्रेष्ठले भने, ‘संसद् हुँदाहुँदै अध्यादेशबाट काम गर्ने नेचर हो उहाँको। साना दलहरू र उहाँले पूर्वाग्रह राख्ने दलहरूलाई तोड्नका लागि अध्यादेश ल्याउने कुरामा हामीहरूलाई ठूलो शंका थियो। पहिला पनि गरिसक्या भएर मुख्य रूपमा त्यही विषयमा बैठक बसेको हो।’

सरकारमा रहेका साना दल भने पनि कुनकुन दल हुन् भन्नेबारे उनले केही भनेनन्। सरकारमा सहभागी भएका नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जसपाको संसद्‍मा सिट संख्या थोरै छ। श्रेष्ठले भने, ‘दुई तिहाई हुँदा पनि उहाँले अध्यादेशबाट सरकार चलाउनु भएको हो। सत्ता पक्षमा भएकै साना दलहरू फुटाउने तयारीमा हो कि या हामी नयाँ दलहरूप्रति पनि उहाँहरूले केही कदम चाल्न लाको हो कि भन्ने हामीलाई गम्भीर आशंका छ।’ 

यसै विषयमा प्रतिपक्षी दलहरूले सरकार, सभामुख र राष्ट्रपतिसमेतको ध्यानाकर्षण गराउने पनि उनले बताए। ‘पहिलाजस्तै अधिनायकवादी शैलीमा शक्तिको दुरुपयोग गरेर पेल्ने कदम चालेमा संसद्को विशेष अधिवेशन माग गर्ने राष्ट्रपतिकहाँ जाने भन्ने विषयमा छलफल भयो,’ उनले अगाडि भने ।

समसामयिक विषयमा छलफल गर्न भन्दै प्रतिपक्षी दलका नेता समेत रहेका दाहालले शुक्रबार विपक्षी दलहरूको बैठक बोलाएका थिए। बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाल, लोसपा र आजपाका नेताहरू सहभागी थिए। लोसपा चाहिँ सत्तारुढ दल हो। 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १२:५०
Weather Update