News Griha :: न्यूजगृह
प्रचण्डलाई रवि पक्राउ पर्न लागेको सूचना कसले दियो?

काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने बताएका छन्।

अध्यक्ष दाहालले शुक्रबार प्रतिपक्षी दलहरूको बैठकमा रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्न लागिएकोबारे आफूले सूचना पाएको बताएका हुन्।

समसामयिक विषयमा छलफल गर्न भन्दै प्रतिपक्षी दलका नेता समेत रहेका दाहालले शुक्रबार विपक्षी दलहरूको बैठक बोलाएका थिए। उनले तीन दलको बिहीबार भएको बैठकको कुराकानीबाट त्यस्तो आशय पाएको उल्लेख गरेको एक नेताले बताए।

बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाल, लोसपा र आजपाका नेताहरू सहभागी थिए। लोसपा चाहिँ सत्तारुढ दल हो। बैठकमा रास्वपा सभापति लामिछाने, उपसभापतिद्वय स्वर्णीम वाग्ले र डोलप्रसाद अर्याल, सांसदहरू विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ र शिशिर खनाल सहभागी थिए।

केहीदिनदेखि लामिछानेलाई पक्राउ गर्न लागिएको हल्ला व्यापक रुपमा चलेको छ। तर कास्की जिल्ला अदालतले भने अहिलेसम्म पक्राउ पुर्जी जारी भइनसकेको जनाएको छ।

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले आजमात्रै अदालत खुलेको र हालसम्म पक्राउ पुर्जीबारे कुनै जानकारी नभएको बताए। ‘अहिलेसम्म यसबारेमा कुनै जानकारी छैन। पछि हुने कुरा पछि नै होला,’ उनले भने।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा आएपछि खर्च गर्ने भूमिकामा जिम्मेवार रहेको सहकारी ठगी छानबिन समितिले निष्कर्ष निकालेको थियो।

सोही प्रतिवेदन कार्यान्वयनका क्रममा गोरखा मिडिया नेटवर्कका उनका तत्कालीन साझेदार छविलाल जोशी पक्राउ परिसकेका छन्।

यस्तै लामिछानेविरुद्ध प्रहरीले सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले छुट्टै अनुसन्धान समेत गरिरहेको छ।

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा असोज ६ मै पूर्व डीआईजी समेत रहेका जोशी पक्राउ परेका थिए। प्रहरीले जोशीको बयान लिएको छ।

पूर्व डीआईजी जोशी, पूर्व गृहमन्त्री लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई व्यापारिक साझेदार हुन्। उनीहरूले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ। लामिछाने गोर्खा मिडियाका निर्देशक थिए।

जोशी २०७८ मा गोर्खा मिडियाबाट अलग भएको देखिएको छ। लामिछाने २०७९ मा गोर्खा मिडियाबाट अलग भएका हुन्। उनीहरू त्यहाँ हुँदा नै सहकारीको रकम अवैध तरिकाले आएको प्रहरीको अनुसन्धानबाट देखिएको छ।

प्रहरीसँगको बयानमा जोशीले आफ्नो घर धितो राख्न खोजेपछि कुरा नमिलेको र त्यसपछि गोर्खा मिडियाबाट अलग भएको बताएका छन्।

रविलाई पक्राउ गर्न लागिएको भन्दै रास्वपाभित्र तरङ्ग उत्पन्न भएको छ भने यही चर्चाका बिच शुक्रबार सत्तारुढ दलको बैठक समेत बसेको हो।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १२:०४
Weather Update