News Griha :: न्यूजगृह
चिसो बढे पनि घटेन डेङ्गु, काठमाडौंमा हप्तामै पाँच सयभन्दा बढी सङ्क्रमित भेटिए

काठमाडौं— चिसो बढे पनि डेङ्गु सङ्क्रमण घट्न सकेको छैन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को पछिल्लो विवरण हेर्दा देशभर डेङ्गु सङ्क्रमण बढिरहेको छ।

ईडीसीडीको विवरणमा देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ। डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन्।

यति मात्रै होइन यो अवधिमा काठमाडौंमा सबैभन्दा धेरै सङ्क्रमित रहेका छन्। काठमाडौंमा डेङ्गु सङ्क्रमित ३ हजार १०३ जना छन्।

अघिल्लो हप्तासम्म काठमाडौंमा २५ सय सङ्क्रमित थिए। काठमाडौंमा एक हप्तामै ५ सयभन्दा बढी सङ्क्रमित भेटिएका छन्। हाल काठमाडौंको मात्रै डेङ्गु सङ्क्रमण दर १५ प्रतिशतभन्दा बढी छ।

यस्तै कास्कीमा दुई हजार ८४७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। यस्तै तनहुँमा दुई हजार १०७, पर्वतमा एक हजार ५६२, चितवनमा ९७१, ललितपुरमा ८२७, गोरखामा ५८८, बाग्लुङमा ६१०, भक्तपुरमा ३५५ तथा स्याङ्जामा ३३५ जना डेङ्गु सङ्क्रमित भेटिएको महाशाखाले जनाएको छ।

गत वर्ष पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो। यस वर्ष सङ्ख्यात्मक रुपमा कम सङ्क्रमित भेटिए पनि कडा खालका लक्षण देखिएका बिरामीहरू धेरै रहेको सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनको भनाइ छ।

एडिस एजेप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु एक प्रकारको कीटजन्य रोग हो। पछिल्ला वर्षहरूमा यो मौसममा नेपालमा डेङ्गु पनि जनस्वास्थ्यको एक प्रमुख चुनौती बन्दै गएको छ। 

त्यसैले डेङ्गुबाट बच्न सबैभन्दा पहिले लामखुट्टेको टोकाइबाट बच्न पर्छ। जसका लागि शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने र सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ।  

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १९:१६
Weather Update