काठमाडौं— प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको ललितपुरका एसएसपी शेखर खनालले बताए।
भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा एक जना सहायक हवलदार सहित ४ जना थुनामा छन्। सुनसरीका सुस्मा बिक र ताज मुल इस्लाम, भिमादेवी थापा र सहायक हवलदार महेन्द्र हमाल पक्राउ परेका हुन्।
घटनामा संलग्न इटहरी घर भएका दर्शन पोखरेल फरार छन्। उनीहरूविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ।
ललितपुरको सानागाउँका घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुई पटकमा २० लाख नगद भिमादेवी थापाको खातामा जम्मा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।
आफूसँग रकम असुल्न प्रहरी प्रभाग भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका छन्। यसअघि गृह मन्त्रालयले शाहीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
यो पनि पढ्नुहोस
इन्स्पेक्टरमाथि बलात्कार सम्बन्धी मुद्दामा ‘फसाइदिने’ भन्दै ३० लाख रुपैयाँ असुलेको आरोप
धनकुटा घर भएर इटहरी बस्ने १९ वर्षीया सुस्मा बिकले असोज ६ मा भैँसेपाटी प्रभागमा आफूलाई एक पुरुषले गालीगलौज र धाकधम्की दिएको भन्दै उजुरी दिएकी थिइन्। त्यसपछि घटनाले नयाँ मोड लिएको थियो।