News Griha :: न्यूजगृह
‘हनी ट्रयाप’ प्रकरण: ३० लाख लेनदेनमा मुछिएकी इन्स्पेक्टर बिनु शाही निलम्बित  

काठमाडौं— गृह मन्त्रालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनु कुमारी शाहीलाई निलम्बन गरेको छ।

शुक्रबार गृह मन्त्रालयले शाहीको निलम्बनको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए।

ललितपुरको प्रहरी प्रभाग भैँसेपाटी प्रमुख हुँदा उनले व्यवसायीलाई ‘हनी ट्रयाप’ गर्ने गिरोहसँग मिलेर ३० लाख रुपैयाँ घुस लिएको आरोप छ।

आरोप बाहिरिएपछि शाहीलाई भैँसेपाटी प्रहरी प्रभाग प्रमुखबाट हटाएर रानीपोखरी तानिएको थियो।

घटनाबारे छानबिन गर्न ललितपुर प्रहरीले छानबिन समिति गठन गरेको थियो। छानबिन समितिको प्रारम्भिक अनुसन्धानबाट उनको भूमिका शङ्कास्पद देखिएपछि निलम्बनका लागि सिफारिस गरेको थियो।

अनुसन्धान पूरा नहुँदासम्मका लागि शाहीलाई निलम्बन गरिएको प्रवक्ता कार्कीले जानकारी दिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १९:५८
Weather Update