News Griha :: न्यूजगृह
पुण्य गौतममाथि रड प्रहार गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं— पुण्य गौतममाथि रड प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँस्थित सडकमा ४६ वर्षीय पुण्य गौतममाथि रड प्रहार गरी घाइते बनाएका थिए। घाइते बनाएर फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काभ्रे तेमाल घर भई भक्तपुरको च्यामासिंह बस्ने ३० वर्षीय टासी लामा भन्ने सञ्जीब तामाङ र रसुवा घर भई गोकर्णेश्वर नगरपालिका-४ बस्ने ४१ वर्षीय मिलन भन्ने दिलबहादुर गङदान छन्।

सञ्जीबलाई प्रहरीले मंगलबार र दिलबहादुरलाई बुधबार पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले एउटा रड र तीन वटा मोबाइल पनि बरामद गरेको छ।

एसपी अधिकारीका अनुसार उनीहरूमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाएको छ।

पक्राउ परेका दिलबहादुर गङदाङ मुख्य योजनाकार हुन्। उनी मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक समेत हुन्। रड प्रहार गर्नुको कारण भने खुलिसकेको छैन।
 

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १६:०४
Weather Update