
काठमाडौं — १ माघमा काठमाडौंबाट चालक दलका चार सदस्य र ६८ जना यात्रु बोकेर पोखरा उडेको थियो, यती एअरको ‘नाइनएन एएनसी एटीआर ७२’ जहाज । तर, अवतरण भने सेती नदीको खोंचमा भयो । ७२ जनाको ज्यान लिएको त्यो दुर्घटनाले, नेपाली आकाश कति सुरक्षित ? फर्केर हेर्न बाध्य बनायो ।
यहीँ आकाशमा विगत २५ वर्षदेखि उडान भरिरहेको छ, बुद्ध एअर । नेपालका निजी वायुसेवा कम्पनी मध्ये, सबभन्दा लामो समय नेपाली आकाशमा उडान भर्ने कम्पनी हो । विमानस्थल परिसरमै मर्मत केन्द्रसमेत बनाएको छ ।उडानलाई धेरै यात्रुले भरपर्दाे र विश्वासिलो मान्दै आएका थिए । तर, पछिल्लो समय बुद्ध एअरमाथि यात्रुहरुले प्रश्न उठाइरहेका छन् ।
थोत्रा पाटपुर्जा बोकेको बुद्ध एअरको विमान, ‘दुर्घटना हुन्छ कि’ भन्ने आम नागरिकको आशंका छ । आशंकालाई स्वाभाविक मान्न सकिने आधारहरु पनि छन् । जस्तो, ल्यान्डिङ गियर नखुल्ने, फ्लाइट स्थगित गर्ने लगाायत बुद्ध एअरमा हुने नियमित समस्या हुन् । पछिल्लो समय बुद्ध एअरका समस्या के—के देखा परेका छन् ? यात्रुले कस्ता खाल्का सास्ती खेप्नुपर्छ ? एकपटक बुँदागत रुपमा चर्चा गरौँ,
थोत्रा पाटपुर्जा
बुद्ध एअरका अधिकांश जहाजका पाटपुर्जा फेरिएका छैनन् । विमानस्थल परिसरमै मर्मत केन्द्र बनाएपनि, मर्मतसम्भारमा ध्यान जाँदैन । जसले गर्दा दिनौँ बुद्ध एअरमा प्राविधिक समस्या अधिक देखिन्छन् ।
बुद्धसँग २४ बर्षअघि बनेको (सन् १९९७ देखि उडान भर्दैे) एनएजेओ जहाज छ । उक्त जहाज बुद्धलेसन् २०१० मा किनेको हो । त्यसका कति पाटपुर्जा फेरिए ? कति फेर्न बाँकी छन् ? ध्यान नदिँदा समस्या देखा परिरहेको हुन्छ ।
समयमा ल्यान्डिङ गियर नखुल्ने
११ असोज २०७८ मा काठमाडौंबाट विराटनगरका लागि उडेको ‘अल्फा नोभेम्बर इन्डिया’ जहाजको ल्यान्डिङ गियर खुलेन । विराटनगरको आकाशमा दुई फन्को लगाउँदा पनि ल्यान्डिङ गियर नखुलेपछि काठमाडौंको आकाशमै १० फन्को लगाएर आकस्मिक अवतरण भयो ।
यस घटनामा पाइलटको कमजोरी देखाइयो । जतिबेला ठूलो दुर्घटनाबाट बच्यो । नियामक निकाय नागरिक उड्यन प्राधिकरणसमेत जहाज सञ्चालकको छायामा पर्ने गरेको छ । पाइलटलाई दोषी ठहर्याएर बुद्ध एअर सधैँ पानीमाथिको ओभानो बन्छ ।
ककपिटमा धुँवा
बुद्ध एअरका विमानमा पटकपटक ककपिटमा धुवाँ भरिने समस्या छ । १२ असोज २०७८ मा काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एअरको जहाजको ककपिटमा धुँवा भरियो । त्यसपछि जहाजलाई एकाएक काठमाडौंमै अवतरण गरियो ।
टायरमा समस्या
२२ असोज २०७८ मा उडान भर्न ठिक्क परेको बुद्ध एअरको ‘९ एन एएमयू’ जहाजको टायरमा समस्या आयो । हतार हतार यात्रुलाई अर्को जहाजमा सारियो । सिमरामा रहेको जहाजको एयर प्रेसर रिलिजपछि टायरमा समस्या आएको भन्दै बुद्ध एअरले स्पष्टिकरण दियो तर यात्रुलाई उसको स्पष्टिकरणमा चित्त बुझेन ।
प्रोपेलरमा समस्या
२२ मंसिर २०७८ मा बुद्धको ‘९ एन एएनआई’ जहाज भैरहवामा अवतरण गर्ने बित्तिकै दायाँ प्रोपेलरमा समस्या देखियो । जहाजमा प्राविधिक समस्या आएपछि भैरहवाबाट काठमाडौं आउन ठिक्क परेका यात्रुहरू जहाजमा नजाने भन्दै अडान राखे । पछि केहीसमय जहाज ग्राउन्डेड भयो ।
कर्मचारीको लापरबाही
३ पुस२०७७ मा बुद्ध एअरको ६०७ नम्बरको जनकपुर लागि उडानतय भएको जहाजपोखरा पुग्यो । विमानस्थल ग्राउन्ड ह्यान्डलिङका कर्मचारीको गम्भीर लापरबाहीका कारण जनकपुर पुग्नुपर्ने यात्रु पोखरा पुगे ।
पाटपुर्जाको निरन्तर परिक्षण हुँदैन
१७ वैशाख २०७९ मा भैरहवाबाट यात्रु बोकेर काठमाडौंको लागि उडान भर्न लागेको बुद्ध एअरको जहाज दुर्घटनाबाट जोगियो । उड्न तयार जहाजको टायर नै पन्चर भयो । यस्ता घटना बुद्धका धेरै छन् । यो हुनुको कारण पाटपुर्जामा निरन्तर परिक्षण नहुनु हो ।
आकस्मिक अवतरण धेरै
३ पुस २०७८ मा भरतपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको ‘९ एनएईई कल साइन’को विमान उडान भरेको दुई मिनेटमै आकस्मिक अवतरण गर्नुपर्यो ।
जहाजको बायाँ इन्जिनमा समस्या आएका कारण आकस्मिक अवतरण गर्नु परेको भन्दै बुद्ध एअरले समस्या बतायो । यस्ता प्राविधिक समस्या आउनुलाई स्वभाविक हो भन्दै त्यतिबेला पनि पन्छियो बुद्ध । यस्ता अवतरण कति गर्यो गर्यो, बुद्ध एअर ।
समयमा उडान नभर्ने
१८ माघ २०७९ मा पोखरा विमानस्थलबाट ९ः४० मा उडानको समय तोकेको विमान १०:१५ मा उड्यो । यात्रुको संख्या कम भएकाले उडान ढिला भएको जानकरी बुद्ध एयरले बताएको थियो । यस्तो उडान बुद्ध एयरमा निरन्तर हुन्छन् । आकाश सफा भएपनि बुद्धले यस्तो कामलाई निरन्तरता दिइरहेको छ ।
फ्लाइट रद्द
गत मंसिर १५ गते काठमाडौंबाट विराटनगरका लागि उडान भर्ने तयारीमा थियो बुद्ध एयरको जहाज । तर, यात्रुको संख्या कम भएको भन्दै बुद्धले जहाज उडाएन । समय सीमा हुन्छ, त्यो पालना नगरेर आफ्नो अडान छोडेन ।
कर्मचारीमा हुकुमे शैली
बुद्ध एअरमा कार्यरत कर्मचारीहरु कुनै राजा महाराजभन्दा कम छैनन् । उनीहरुहको हुकुम यसरी उर्दी हुन्छ, यात्रुले उसैमाथि जीवन चलाइरहेका छन् । कर्मचारीले निरन्तर यस्तो व्यवहार देखाइरहेका हुन्छन् । यात्रुुसँग रूखो तवरले प्रस्तुत हुन्छन् । यात्रुहरुले सोधपुछ गर्दा कर्मचारीहरुले राम्रोसँग जवाफ दिँदैनन् ।
दोष जति अरूलाई
बुद्ध एअरले नेपालमा ११ अक्टोबर १९९७ मा पहिलो पटक व्यावसायिक उडान गरेको थियो । कम्पनीले सस्तो र भरपर्दाे उडान गर्ने विमान भनेर दाबी गरिरहँदा आफ्नो कमीकमजोरीलाई कहिले पाइलटको कमजोरी त कहिले प्राविधिक समस्या भन्दै जिम्मेवारीबाट पछि हट्यो ।
इतिहास बनाएको बुद्ध एयरले सामान्य चेकजाँचमा ध्यान नदिँदा लाखौँ यात्रुहरुले जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । उल्लेखित भुललाई सुधार गरेर बुद्ध एयर नेपाली आकाशमा चम्किन्छ ? प्रश्न भने कायम छ ।












