News Griha :: न्यूजगृह
काठमाडौं उपत्यकामा भोलिसम्मै झरी पर्ने

काठमाडौं— काठमाडौं उपत्यकाका अधिकांश स्थानमा बिहानदेखि नै पानी परिरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा धाप ड्याममा २२.६ मिलिमिटर, साँखुमा १५ मिलिमिटर, सुन्दरीजलमा १६.६ मिलिमिटर, कीर्तिपुरमा ३२ मिलिमिटर, त्रिभुवन विमानस्थलमा १९.२ मिलिमिटर, पानीपोखरीमा १७ मिलिमिटर वर्षा भएको छ।

त्यस्तै भक्तपुरको नगरकोटमा २६.४ मिलिमिटर वर्षा भएको छ। ललितपुरको लेलेमा २८.२ मिलिमिटर, खुमलटारमा २३.६, गोदावरीमा २४.६, टीकाथलीमा १५.२ मिलिमिटर वर्षा मापन भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् झाले काठमाडौं उपत्यकामा भोलिसम्मै झरी पर्ने जानकारी दिए। आज पनि दिनभरि पानी पर्ने पूर्वानुमान रहेको झाले जानकारी दिए।

‘वर्षाको इन्टेन्सिटी कहिले धेरै र कहिले थोरै हुन्छ। पानी चाहीँ दिनभरि नै पर्ने सम्भावना छ,’ उनले भने।

मनसुनी वायु र भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभावका कारण वर्षा भइरहेको हो।

भोलि साँझदेखि मात्रै काठमाडौंमा मौसम केही सुधार हुने उनले बताए।  काठमाडौंमा धेरै भारी वर्षाको सम्भावना भने नरहेको उनले जानकारी दिए।

मौसम पूर्वानुमान महाशाखाले  विशेष बुलेटिन जारी गरी आइतबारसम्मै भारी वर्षा हुन्छ भनेको थियो। अहिले झापा लगायतका विभिन्न ठाउँहरूमा भीषण वर्षा भइरहेको छ। 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०८:२७
Weather Update