काठमाडौं— सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया फेरि थालेको छ। यसअघि सर्टलिस्टमा परेका तर अन्तर्वार्ता तथा कार्यप्रस्तुतीमा सहभागी नभएका तीन जना उम्मेदवारलाई फेरि कार्यप्रस्तुती तथा अन्तर्वार्ताका लागि बोलाइएको छ।
एक सार्वजनिक सूचना जारी गर्दै गठित सिफारिस समितिले असोज १८ गते बिहान ८ बजेका लागि तीन जना उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्यप्रस्तुतीका लागि बोलाएको हो।
नेप्सेका वर्तमान सीईओ कृष्णबहादुर कार्की, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवि चापागाईं र धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीलाई अन्तर्वार्ता तथा कार्यप्रस्तुतीका लागि बोलाइएको छ।
यसअघि सर्टलिस्टमा परे पनि अन्तर्वार्ता तथा कार्यप्रस्तुतीमा यी तीन उम्मेदवार सहभागी नभएपछि समितिले नाम सिफारिस गर्न सकेको थिएन। त्यसपछि सरकारले नियुक्तिका लागि नयाँ प्रक्रिया सुरु गर्ने तयारी गरेको थियो।
तर सर्टलिस्टमै परेका पाँचमध्येका एक उम्मेदवार सन्तोषनारायण श्रेष्ठले अध्यक्ष नियुक्तिको नयाँ प्रक्रिया सुरु नगर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरे । गत असार २१ मा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले नयाँ नियुक्ति प्रक्रिया नथाल्न भनिएको अन्तरिम आदेशलाई निरन्तरता दियो।
त्यस्तै मुद्दाको पूर्ण सुनुवाइका लागि अग्राधिकार दिई नियमानुसार पेस गर्न भनियो। धितोपत्र बोर्डको अध्यक्ष जस्तो महत्त्वपूर्ण पद लामो समयसम्म खाली राख्न नहुने भन्दै सर्वोच्च बेन्चले अग्राधिकार दिएर पेसी तोक्न भनेको थियो। तर, पेसी भने ३० माघका लागि तोकियो।
तर पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्ति गर्न भने सर्वोच्चले बाटो खुला राखेपछि सरकारले पुनः प्रक्रिया अघि बढाएको हो।