News Griha :: न्यूजगृह
छविपछि रवि पनि पक्राउ पर्दैछन्?, के भन्छ प्रहरी?

काठमाडौं— सरकारले सहकारीको रकम अपचलनमा संलग्नहरूलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ।

संसदीय छानबिन समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरी अनुसन्धानमा ल्याउनु भनेका ५५ जनालाई पक्राउ गर्ने तयारी गरेको हो।

सहकारी ठगीमा संलग्न गोरखा मिडिया नेटवर्क सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशीलाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको थियो।

त्यस्तै गोरखा मिडिया नेटवर्ककै पूर्व सञ्चालक एवं रास्वपा सभापति रवि लामिछाने र कांग्रेस उपसभापति धनराज गुरुङलाई समेत आइतबार नै पक्राउ गर्ने तयारी गरिएको स्रोतले बतायो। उनीहरूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ। लामिछाने  पूर्वगृहमन्त्री समेत हुन्।

असोज २ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले आइतबार नै प्रहरी मुख्यालय पुगेर निर्देशन दिएका थिए।

आईजीपी वसन्तबहादुर कुँवरलाई लेखकले ‘जो जुन अवस्थामा भेटिन्छ त्यहीँ अवस्थामा पक्राउ गर्नु’ भन्ने कडा निर्देशन दिएका छन्। निर्देशन पाए लगत्तै प्रहरी परिचालन गरिएको हो।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १८:५८
Weather Update