
काठमाडौं— सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी)समेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेका छन्।
कास्की प्रहरीको पत्रका आधारमा काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टाेलीले जाेशीलाई बानेश्वरबाट पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार उनलाई कास्की प्रहरीमा पठाउने तयारी भइरहेको छ।
सहकारीबाट ६५ करोड ५४ लाख ग्लोबल आईएमई बैंकको खाता नम्बर ०४०१०१००००५७७ मा आएको थियो, जीबी, रवि, छविको नाम, ठेगाना, तीनपुस्ते, फोटो, औँठाछाप र हस्ताक्षरसहित यो खाता खोलिएको थियो। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन भन्छ– हस्ताक्षर जसको चल्छ, खाता उसैको हो।
उक्त खाता गोर्खा मिडियाका कार्यकारी अध्यक्ष जीबी राई, सञ्चालक रवि लामिछाने र छविलाल जोशीमध्ये एकको हस्ताक्षरसहित कम्पनीको छापमा सञ्चालन हुन्थ्यो।
सहकारीको बचत रकम छानबिनका लागि गठित संसदीय विशेष समितिले उक्त खातामा सहकारीबाट धमाधम पैसा आउने गरेको थियो। 'सूर्यदर्शन, सुप्रिम, सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५३८ रुपैयाँ गोर्खा मिडियामा प्रवाह भएको देखिन्छ,’ प्रतिवेदनको निष्कर्ष खण्डमा लेखिएको छ, ‘जसमध्ये २२ करोड ४६ लाख ३० हजार सहकारी संस्थाबाट गोर्खा मिडियाको बैंक खातामा जम्मा भएको देखिन्छ भने ४३ करोड ७ लाख ७४ हजार ५३८ सहकारीको रकम अन्य व्यक्ति तथा संस्थाका नामबाट गोर्खा मिडियाको बैंक खातामा जम्मा भएको देखिन्छ।’
संसदीय समितिले कम्पनीका नाममा रहेको आफ्नो हस्ताक्षर चल्ने बैंक खातामा आउने रकमको स्रोतबारे सञ्चालकहरू राई, लामिछाने र जोशीले प्रश्न गरेको, कुनै विमति वा फरक मत दर्ज गराएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ। ‘सञ्चालकद्वय लामिछाने र जोशी कम्पनीमा जिम्मेवार पदाधिकारी रहुन्जेल निजहरूले सहकारीबाट आएको रकम खर्च वा परिचालन गरेबापत सिर्जना हुने उत्तरदायित्व बहन गर्नुपर्ने देखिन्छ,’ प्रतिवेदनको निष्कर्ष छ।
संसदीय विशेष छानबिन समितिको प्रतिवेदमा सहकारी ठगी प्रकरणका आरोपी गोरखा मिडियाका सञ्चालक जोशीसहित कार्यकारी अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो।
संसदीय समितिको प्रतिवेदनको परिच्छेद ८ मा सहकारी ठगी प्रकरण सहकारी ऐन २०७४, मुलुकी अपराध संहिताको किर्तेसम्बन्धी दफा, सङ्गठित अपराध निवारण ऐन २०७० र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६४ का कानुन आकर्षित हुने उल्लेख छ।
पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको थियो, कम्पनीमा अध्यक्ष जीबी राई र प्रबन्ध निर्देशक लामिछाने थिए। सहकारीको रकम कम्पनीमा ल्याउने, झूटा कागज बनाएर कम्पनीको सेयर लेनदेन गर्ने तथा लगानीको स्रोतमा पनि कैफियत गर्नेलगायतका काम भएकाले प्रचलित कानुनका विभिन्न दफा आकर्षित हुने उल्लेख छ।
समितिको प्रतिवेदन कार्यान्वयन गर्नका लागि गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरीलाई निर्देशन दिएका थिए। उक्त निर्देशन लगत्तै प्रहरीले जोशीलाई पक्राउ गरेको हो।