News Griha :: न्यूजगृह
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
फाइल तस्बिर।

काठमाडौं— उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन्।

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) को भद्रकालीस्थित कार्यालयमा निरीक्षणका लागि पुगेका अर्थमन्त्री पौडेलले पुँजीबजारको वर्तमान अवस्थाका बारेमा जानकारी लिनुहुँदै कारोबार रकम र नेप्से परिसूचकमा देखिएको अस्थिरता बारे चासो व्यक्त गरे। 

'केही समयअघि मात्र नेप्से परिसूचक तीन हजार अङ्कभन्दा माथि र कारोबार रकम ३० अर्ब हाराहारी पुगेकोमा अहिले परिसूचक २ हजार ५ सय ७० हाराहारी र कारोबार रकम ५/६ अर्बमा खुम्चिएको छ,' अर्थमन्त्री पौडेलले भने, 'किन यस्तो भइरहेको छ भन्नेबारे शीघ्र र स्पष्ट जवाफ खोजौँ।'

वर्तमान सरकार गठन भएपछि राजनीतिक स्थिरताको सन्देशसँगै पुँजीबजारमा पनि सुधार देखिएको भए पनि अहिले फेरि बजार घट्दै जानुको कारणबारे अर्थमन्त्री पौडेलको चासो थियो। 

'स्थिर र बलियो सरकार छ। बैंक वित्तीय संस्थामा ब्याजदर घटेको छ। तर तीन हजारको बिन्दुसम्म पुगेको बजार टिक्न सकेन। यस्तो किन भइरहेको छ भन्ने जवाफ चाहन्छु,' उनले भने। 

अर्थमन्त्री पौडेलले पुँजी बजारलाई दिगो, विश्वसनीय र प्रविधिमैत्री बनाउन सुधारका थप क्रियाकलाप अघि बढाउन पनि निर्देशन दिए। पुँजीबजारमा हुने इन्साइडर ट्रेडिङजस्ता अवाञ्छनीय गतिविधि रोक्नका लागि चनाखो हुन पनि अर्थमन्त्री पौडेलले नेप्सेलाई निर्देशन दिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १९:२९
Weather Update