News Griha :: न्यूजगृह
वीर अस्पतालमा पनि सुरु भयो जलनको उपचार

काठमाडौं— चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा आजबाट जलनको उपचार सेवा सुरु भएको छ। अस्पतालमा बर्न वार्डमा २०७२ वैशाखको भूकम्पले क्षति पुर्‍याएपछि त्यसयता उक्त सेवा वीर अस्पतालमा बन्द भएको थियो।

अस्पतालका निर्देशक डा सन्तोष पौडेलका अनुसार आजबाट उक्त बन्द रहेको ‘जलन उपचार केन्द्र’ बाट जलनका बिरामीको उपचार सेवा सुरु गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज उक्त बन्द रहेको वार्ड सहित अस्पतालमा जलनको सम्बन्धी उपचार सेवाको शुभारम्भ गरेका हुन्। जसमा जलनका बिरामीलाई मात्रै उपचार गर्न भनेर  १० जनरल बेड, ५ आईसीयू र तीनवटा अप्रेसन थिएटर रहेका छन्।

वीर अस्पतालको जलन सम्बन्धी उपचार सेवा शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री पौडेलले भविष्यमा छिट्टै जलनका बिरामीलाई एक लाख रुपैयाँ सरकारी  सहुलियत दिने तयारी भएको समेत बताएका छन्। 'अन्य केही कडा रोगलाई उपचार सहुलियत दिए जस्तै जलनका बिरामीलाई पनि एक लाख रुपैयाँ उपचार रकम सहयोग दिने तयारी गरिरहेका छौँ,' स्वास्थ्यमन्त्री पौडेलले भने। 

पछिल्ला समयमा नेपालमा विभिन्न कारणले जलनमा परेर घाइते हुने बिरामीको सङ्ख्या बढ्दो छ तर हाल नेपालमा त्रिवि शिक्षण अस्पताल र कीर्तिपुर अस्पतालका साथै अन्य केही अस्पतालमा मात्रै जलनका बिरामीको प्रभावकारी उपचार सेवा हुँदै आएको छ तर अहिले सबैभन्दा धेरै जलनको उपचार सेवा कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा  हुने गरेको छ। 

कीर्तिपुर अस्पतालमा शरीरको बाहिरी भाग जलेकामा ३० प्रतिशत र श्वासनली जलेकोमा ६० प्रतिशतभन्दा बढी मृत्युदर छ। उपत्यकाका ८ प्रतिशत र काठमाडौं बाहिरका ९२ प्रतिशत जलनका बिरामी आउने गरेको कीर्तिपुरको तथ्याङ्कले देखाउँछ। बढी जलनका घटना मधेश प्रदेशमा हुने गरेको छ।

नेपालमा पहिलो पटक वीर अस्पतालमा  जलनको उपचारको सुरुवात वरिष्ठ प्लास्टिक सर्जन डा केशवदास जोशीले २०४३ सालमा सुरुवात गरेका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १४:४७
Weather Update