
काठमाडौं— सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सीईओ नियुक्त गरेको हो।
लगानी बोर्डको सीईओ पदका लागि आवेदन दिएकामध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्टमा परेका थिए। त्यसमध्येबाट ३ जनाको नाम बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।
गत साउन २७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सीईओका लागि आवेदन माग गरेको थियो। यसअघिका सीईओ सुशील भट्टको कार्यकाल सकिएसँगै सरकारले आवेदन मागेको थियो।
सरकारले यसपटक प्रमुख कार्यकारी सिफारिससम्बन्धी कार्यविधि २०८१ बनाएरै नियुक्ति प्रक्रिया अघि बढाएको थियो। मन्त्रिपरिषद्को साउन २२ को बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहने गरी सिफारिस समिति गठन गरेको थियो।
सो समितिले नै सङ्क्षिप्त सूचीमा परेकाहरूको अन्तर्वार्ता लिएर सिफारिसको निर्णय गरेको थियो। बिहीबार लगानी बोर्डको सीईओ नियुक्त भएका ज्ञवाली साउन २०७७ मा पनि लगानी बोर्डको सीईको दाबेदार थिए। सर्ट लिस्टमा समेत परेका उनी तत्कालीन सरकारले सुशील भट्टलाई नियुक्त गर्ने भएपछि ज्ञवाली अन्तर्वार्तामा नै गएका थिएनन्।













