News Griha :: न्यूजगृह
२ महिनामा जापानी इन्सेफ्लाइटिसबाट ९ जनाको मृत्यु, यस्ता हुन्छन् शङ्कास्पद लक्षण

काठमाडौं— यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार साउन १५ यता जापानी इन्सेफ्लाइटिस सङ्क्रमितको सङ्ख्या ५३ पुगेको हो।

गत वर्षको तुलनामा यस वर्ष मृत्यु सङ्ख्या बढेको देखिएको छ। गत वर्ष जापानी इन्सेफ्लाइटिस सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको थियो।  यस वर्ष कैलालीमा तीन, सुनसरीमा दुई र सर्लाही, पाल्पा, चितवन तथा कपिलवस्तुमा एक–एक जनाको मृत्यु भएको खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए। 

‘साउन र भदौ महिना जेइ को सङ्क्रमण दर उच्च हुन्छ। तराई क्षेत्रमा आउट ब्रेक भएको छ,’ डा गौतमले भने, ‘जेइ को सङ्क्रमणको मृत्युदर पनि उच्च छ। रोकथामका लागि काम थालिसकेका छौँ।’ 

गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमितको सङ्ख्या कम भए पनि मृत्युदर बढेको महाशाखाले जनाएको छ। मृत्यु हुनेमा धेरैजसो जापानी इन्सेफ्लाइटिस विरुद्धको खोप नलिएका व्यक्तिहरू छन्। सङ्क्रमित मध्ये २९ जना १५ वर्षमुनिका बालबालिका छन्।  

‘जेइको विरुद्धमा खोप दिइरहेका छौँ। अधिकांश खोप नलगाउने मानिसलाई मृत्यु पनि भइरहेको छ,’ डा गौतमले भने।

जापानी इन्सेफलाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेले सार्ने गर्छ।  यो रोग लागेपछि कडा टाउको दुखाइ, उच्च ज्वरो र मस्तिष्क सुन्निने जस्ता लक्षणहरू देखिन्छन्।  उपचारपछि निको भए पनि पक्षघातको समस्या रहन सक्छ।

महाशाखाले जापानी इन्सेफलाइटिस विरुद्धको खोप लिन र लामखुट्टेको टोकाइबाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ।

डा गौतमका अनुसार मनसुनको समयमा यो रोगको जोखिम बढी हुने हुन्छ। वर्षायाममा बढी आर्द्रता र बाढीका कारण सरसफाइमा कमी आउँदा लामखुट्टेको वृद्धि हुन्छ। जसले सङ्क्रमणको जोखिम बढाउँछ।

जापानी इन्सेफलाइटिस मुख्यतया सुँगुर र चराहरूमा पाइने भाइरसबाट हुन्छ।  क्युलेक्स प्रजातिको लामखुट्टेले यी जनावरलाई टोकेर मानिसमा सार्छ।  यो रोगले मस्तिष्कमा असर गर्छ। उच्च ज्वरो, टाउको दुखाइ, जीउ काम्नेसमेत हुन सक्छ।

स्वास्थ्य विशेषज्ञहरूले यो रोगको कुनै निश्चित उपचार नभएको तर लक्षण अनुसारको उपचार गरिने बताएका छन्।  रोग नियन्त्रणको प्रमुख उपाय भनेको खोप नै हो। शिशुलाई जन्मेको १२ महिनामा यो खोप दिइन्छ।

चिकित्सकका अनुसार जापानी इन्सेफ्लाइटिस बच्नका लागि लामो बाहुलाको लुगा लगाउने, घर वरिपरि सरसफाइ कायम राख्ने, लामखुट्टे धपाउने झुल वा क्रिमको प्रयोग गर्ने, पानी जम्न दिनुहुँदैन।

डा गौतमले भदौसम्म सङ्क्रमणको जोखिम उच्च रहने भएकाले सतर्क रहन र कुनै शङ्कास्पद लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरे।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १७:०५
Weather Update