News Griha :: न्यूजगृह
सरकारी कार्यालयमा अब ‘टीएमएस’ नचल्ने

काठमाडौं— अब देशभरिका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ नचलाउने व्यवस्था गरिने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको छ। त्यस्तै सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ।

टीएमएस नचलाउनका लागि सबै प्रदेशमा परिपत्र गर्न प्रधानमन्त्री कार्यालय मातहत रहेको प्रादेशिक समन्वय महाशाखालाई निर्देशन दिइएको छ।

यसअघि सिंहदरबारभित्रका कर्मचारीले कार्यालय समयमा टीएमएस चलाएर कारोबार गरिरहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्य रोक्न प्रधानमन्त्री कार्यालयसँग आग्रह गरेको थियो।

कार्यालय समयमा सरकारी स्रोत साधनको प्रयोग गरी व्यक्तिगत कारोबार गर्न नमिल्नेगरी व्यवस्था गर्न अख्तियारले भनेको थियो। प्रधानमन्त्री कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यका अनुसार पठाइएको यो पत्र क्रमिक रुपमा सबै कार्यालयमा कार्यान्वयन हुनेछ। ‘यो कार्यान्वयनको अनुगमन पनि हुनेछ’ उनले भने।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १६:१३
Weather Update