News Griha :: न्यूजगृह
सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यकः गृहमन्त्री

काठमाडौं— गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध, आतङ्कवादलगायतका बहुआयमिक चुनौती सामना गर्न कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय र अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन्। 

नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित इन्टरपोल स्थापनाको शताब्दी दिवसका अवसरमा गृहमन्त्री लेखकले आपराधिक क्रियाकलापलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्व हुने बताए।

'यस्ता आपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्तर्राष्ट्रियस्तरमा असल अभ्यास, विशेषज्ञता एवम् आपसी सूचना आदानप्रदान गर्न आवश्यक छ । साथै समाजलाई शान्त, सुरक्षित एवम् भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्छ,' उनले भने।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले कुनै पनि प्रकृतिका आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताए।

उनले कानुन कार्यान्वयन गर्ने निकायबीच संयुक्त सहकार्य र आवश्यक सहयोग आदानप्रदान गर्दै जटिल अपराध तथा अन्य सुरक्षा चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्न सकिने बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  २१:२०
Weather Update