News Griha :: न्यूजगृह
एकै नम्बरका पाँचवटा मोटरसाइकलसहित २ जना पक्राउ

काठमाडौं— काठमाडौं उपत्यकामा हुने सवारी चोरीपैठारीका घटनाहरुलाई नियन्त्रण गर्न र चोरिएका सवारी साधनहरूलाई खोजतलास गर्दै त्यस्ता चोरीमा संलग्न व्यक्तिहरू माथि विशेष निगरानी गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयको छुट्टै टोली खटिँदै आएको छ ।

चोरी नियन्त्रण टोलीले काठमाडौं महानगरपालिका ३१ स्थित मध्य बानेश्वरबाट बिहीबार मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। 

शङ्कास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको नयाँ मोडलको ३५० सिसिको बुलेट मोटरसाइकल चलाइरहेका अछाम जिल्ला चौरपाटी गाउँपालिका २ घर भई कोटेश्वर बस्ने वर्ष २८ को हिमाल खत्रीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

खत्रीसँग बरामद भएको बुलेट मोटरसाइकल नेपालमा दर्ता नभएको जानकारी पश्चात थप अनुसन्धान गर्दै जाँदा सोही नम्बरको अर्को पनि मोटरसाइकल छ भन्ने पत्ता लागेको हो । मोटरसाइकलको खोजतलासमा निस्केको टोलीले मध्यबानेश्वरमा बस्दै आएका अछाम चौरपाटी गाउँपालिका २ घर भएका २५ वर्षीय प्रमोद कुँवरलाई समेत से ७ प ८५६२ नम्बरको ३५० सिसिको खैरो रंगको बुलेट मोटरसाइकल सहित नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । 

वास्तविक नम्बर बागमती प्रदेश ०२-०४७ प १९७५ रहेको उक्त मोटरसाइकल काठमाडौंस्थित रानीबारीबाट गत श्रावण २८ गते हराएको भनी रानीबारी बस्ने रूपन्देहीका अनुज पाण्डेले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । सोधपुछका क्रममा से ७ प ८५६२ नम्बर भएको अर्को मोटरसाइकल समेत रहेको चोरीमा संलग्न कुँवरबाट खुलेपछि गाडा निलो रंगको १५० सिसिको एफ.जेड.एस. मोटरसाइकल समेत छाउनीबाट नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको क्रममा वास्तविक नम्बर बागमती प्रदेश ०२-०३८ प ९२५३ रहेको उक्त मोटरसाइकल काँडाघारी बस्ने ओखलढुङ्गाका उत्तम कुमार पराजुलीको रहेको खुल्न आएको हो । उक्त मोटरसाइकल ललितपुरको बालकुमारी क्षेत्रबाट गत वर्ष असोजमा हराएको थियो ।

थप अनुसन्धान एवं कारबाहीका लागि चोरीमा संलग्न कुँवरलाई बरामद भएका मोटरसाइकलसहित प्रहरी वृत्त लैनचौरमा र नेपालमा दर्ता नगरी भन्सार छलेको आशङ्कामा बुलेट मोटरसाइकल सहित खत्रीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रवक्ता खड्काले जानकारी दिए ।

थप अनुसन्धान गर्दै जाँदा करिव एकमहिना अगाडि से ७ प ८५६२ नम्बर प्लेट भएको कालो रंगको यामाहा कम्पनीको १५५ सिसिको एमटी१५ बेबारिसे अवस्थामा फेलापारि प्रहरी वृत्त सिंहदरवारको नियन्त्रणमा रहेको तथ्य खुलेको हो । अनुसन्धान गर्दै जाँदा वास्तविक नम्बर बाप्र.०२-०२२ प ५०७८ भएको उक्त मोटरसाइकल बागबजार बस्ने हितेश तण्डुकारले सिफल एरियाबाट हराएको भनी ट्राफिक प्रहरीमा निवेदन दिएको खुलेको थियो ।

थप सूचनाको आधारमा नियन्त्रणमा लिएको वास्तविक नम्बर से ७ प ८५६२ भएको गाडा निलो रंगको १५० सिसिको एफ.जेड.एस. भने भन्सार कार्यालय पठाइएकोमा उक्त मोटरसाइकल खत्रीको रहेको तथ्य समेत खुलेको थियो । उक्त मोटरसाइकलको वास्तविक ब्लुबुकलाई प्रयोग गरि अन्य मोटरसाइकल समेत प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । उक्त मोटरसाईकललाई  नियन्त्रणमा राखि थप अनुसन्धान कार्य भैरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  २०:१३
Weather Update