-1725465123.jpg)
काठमाडौं— अवकाशमा जान लागेका प्रधानसेनापति प्रभुराम शर्मालाई नेपाली सेनाले बिदाइ गरेको छ। करिब ४२ वर्ष लामो सैनिक सेवा एवं प्रधान सेनापतिको तीन वर्षे कार्यकाल सम्पन्न गरी भदौ २४ गतेबाट अवकाश प्राप्त गर्न लागेका शर्माको सम्मानमा आज जङ्गी अड्डामा एक कार्यक्रम गरी बिदाइ गरिएको हो।
कार्यक्रममा रक्षा सचिव रामेश्वर दंगालले नेपाली सेनाको संस्थागत सुदृढीकरण, आधुनिकीकरण र व्यावसायिक क्षमता वृद्धिका लागि प्रधानसेनापति शर्माले पुर्याएको योगदान चीरकालपर्यन्त स्मरणीय रहने बताउँदै प्रधानसेनापति शर्माको बौद्धिक व्यक्तित्व, रणनीतिक सुझबुझ र नेतृत्व कौशलबाट आफू प्रभावित रहेको कुरा उल्लेख गरे।
कार्यक्रममा कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देलले शर्माको सन्तुलित जीवन तथा शालीन शैली, जटिल परिस्थितिहरूको वस्तुपरक ढङ्गबाट सामना गर्न सक्ने क्षमताबाट आफू ज्यादै प्रभावित भएको उल्लेख गरे।
उनले नेपाली सेनाको साख तथा प्रतिष्ठालाई थप उचाइमा पुर्याउन उनले प्रदर्शन गरेको दृढता र समर्पण भाव नेपाली सेनाको इतिहासमा सदैव जीवन्त रहने बताए। सोही अवसरमा उनले आफ्नो भावी कार्यकालका मुख्य प्राथमिकताहरूका बारेमा समेत प्रकाश पारेका थिए।
प्रधानसेनापति शर्माले नेपाली सेनामा नेतृत्व परिवर्तन नियमित प्रक्रिया रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाहरूको कार्यान्वयन तथा अन्य साङ्गठनिक उपलब्धिहरू सम्पूर्ण सकल दर्जाको सामूहिक प्रयासबाट सम्भव भएको उल्लेख गरे।
प्रधानसेनापति शर्माले आफ्नो कार्यकालमा भएका संस्थागत सुदृढीकरण एवं विविध सकारात्मक प्रयासहरूमा निरन्तर साथ, सहयोग र रचनात्मक सुझाव प्रदान गर्ने रक्षा मन्त्रालय लगायत सम्बद्ध सबैमा हार्दिक कृतज्ञता व्यक्त गरे।













