उदयपुर— गाईघाट बोक्सेस्थित ५० शय्याको जिल्ला अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप बढेपछि व्यवस्थापनमा समस्या हुन थालेको छ।
अस्पताल प्रशासनका अनुसार २०६७ सालदेखि २५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सञ्चालन गर्दै आएको भए पनि यस पटकदेखि बिरामीको चाप बढेसँगै व्यवस्थापनमा समस्या हुन थालेको हो।
जिल्ला अस्पताल उदयपुरका प्रमुख डा ज्ञानेन्द्र झाका अनुसार हाल दैनिक पाँच सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। भाइरल ज्वरो, रुघाखोकी, डेङ्गी र अन्य रोगका बिरामी दैनिक पाँच सय भन्दाबढी आउन थालेपछी अस्पतालको शय्याले धान्न छाडेको उनले बताए।
शय्या अभाव भएपछि भूइँमासमेत राखेर बिरामीको उपचार गर्नु परेको अस्पताल प्रशासनले जनाएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गौरबहादुर विश्वकर्माका अनुसार अस्पतालको क्षमता बढाइदिन सम्बन्धित निकायमा पटक–पटक माग गरेपनि सुनुवाइ भएको छैन।
त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले भने, 'अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप बढ्दै गएको कारण क्षमता वृद्धि गरिदिनेबारे पटक–पटक कोशी प्रदेशका मुख्यमन्त्री र सङ्घीय सरकारका स्वास्थ्यमन्त्रीसँग भेट गरेर अनुरोध गरिसकेका छौँ, तर सुनुवाइ भइरहेको छैन।'
स्वास्थ्य मन्त्रालयको नियमावली अनुसार दुई सय शय्यासम्मको अस्पताल वृद्धिको अनुमति प्रदेश सरकारले दिनसक्ने व्यवस्था छ। सो भन्दा बढीको क्षमता वृद्धि गर्न परे सङ्घीय सरकार स्वास्थ्य मन्त्रालयको अनुमति आवश्यक पर्छ।
अस्पताल व्यवस्थापन समितिका सदस्य महेश रोकाका अनुसार उदयपुरको जनसङ्ख्या हाल तीन लाख ७८ हजारभन्दा बढी पुगिसकेको छ। यस अस्पतालमा उदयपुर बाहेक खोटाङ, भोजपुरका बिरामीसमेत उपचारका लागि आउने गर्छन्।