
काठमाडौं— बचत रकम हिनामिना गरेको अभियोगमा काठमाडौंको एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उक्त सहकारीका उपाध्यक्ष बालुवाटारकी ३९ वर्षीया बविता डङ्गोल, सचिव हाँडीगाउँका ५७ वर्षीय कान्छाभाई डङ्गोल, कोषाध्यक्ष ओखलढुङ्गाका ३७ वर्षीय विष्णुप्रसाद फुँयाल, ललितपुर महानगरपालिका–८ का ४८ वर्षीय रामलाल महर्जन र काठमाडौं टोखाका ४६ वर्षीय अमरभाई बज्राचार्यलाई पक्राउ गरेको हो।
उनीहरूलाई सो सहकारीको १५ करोड ९१ लाख ४ हजार ७३६ रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको आरोप छ।
काठमाडौंको चुच्चेपाटीमा कार्यालय खडा गरी बचतकर्ताहरूलाई आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गराई बचतकर्ताहरूको बचत रकम दुरुपयोग गरेको भन्दै सञ्चालक समितिका उपाध्यक्षसहित पाँच जनालाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।
उनका अनुसार सञ्चालकहरूले बचतकर्ताहरूले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटकपटक ताकेता गर्दा पनि फिर्ता नदिएको पाइएको छ। पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रवक्ता बोगटीले जानकारी दिए।













