News Griha :: न्यूजगृह
सशस्त्र प्रहरीमा २ डीआईजीसहित १६ अधिकृत अवकाशमा

काठमाडौं— सशस्त्र प्रहरी बलमा दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहित १६ जना अधिकृत अवकाशमा गएका छन्।

सशस्त्र प्रहरीका डीआईजी अभिकुमार खत्री, दुर्गाप्रसाद भट्टराई, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वकुमार भट्टराईसहितका अधिकृतहरू अवकाशमा गएका हुन्।

खत्री सशस्त्र प्रहरी बलको बिन्ध्यावासिनी बाहिनी मुख्यालय रूपन्देही र भट्टराई महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा प्रमुख थिए।

३० वर्षे सेवा अवधि पूरा गरेपछि उनीहरु अनिवार्य अवकाशमा गएका हुन्। उनीहरुसँगै ११ जना एसपीहरु पनि अवकाशमा गएका छन्।

अवकाश पाउने एसपीमा पूर्णबहादुर साउद, धनबहादुर सिंह, भीमबहादुर चौधरी, महेन्द्रराज भारती, दिपेन्द्र गिरी, अम्मरबहादुर ऐर, अशोककुमार शाक्य, प्रेमबहादुर रावल, गोपालप्रसाद श्रेष्ठ, त्रिभुवन बिष्ट र उद्धवबहादुर रावल छन्।

उनीमध्ये महेन्द्रराज भारती र भीमबहादुर चौधरीले अवकाशमा जानुअघि एक तह बढुवा पाएका थिए। दुई जना डीएसपी राजेश्वरप्रसाद शाह र हरिबहादुर शाही पनि अवकाशमा गएका छन्। उनीहरुमध्ये शाहीले अवकाश अघि विशेष बढुवा पाएका थिए।

सशस्त्र प्रहरीमा ३० वर्ष सेवा पूरा गरेर अवकाशमा जान लाग्दा एउटै दर्जामा ५ वर्ष अवधि पूरा गरेको भए विशेष बढुवा दिने प्रावधान छ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १४:५६
Weather Update