
काठमाडौं— नेपाल प्रहरीमा तत्काल ३० वर्षे सेवा अवधि नहट्ने भएपछि भदौ महिनामा मात्र ९० प्रहरी अधिकृत अवकाशमा जाने भएका छन्। तीमध्ये अधिकांश अधिकृत आइतबारबाट लागू हुने गरी अवकाशमा गएका छन्।
प्रहरी सेवामा अवकाशका लागि उमेरहद, सेवाअवधि र पदावधि गरी तीन किसिमको व्यवस्था छ। भदौ १६ बाट अवकाशमा जान लागेका एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जनाले ३० वर्षे सेवा अवधि हटाउनुपर्ने भन्दै रिट निवेदन दिएका थिए।
निवेदनमाथि सुनवाइ गर्दै न्यायाधीश हरि फुयालको इजलासले तत्काल ३० वर्षे सेवा अवधिका आधारमा अवकाश नदिन भनेको थियो। तर, त्यसविरुद्ध सरकारले दिएको भ्याकेट निवेदनबाट अन्तरिम आदेश खारेज भएपछि उनीहरु अवकाशमा गएका हुन्।
आइतबारबाट अवकाशमा गएकाहरुमा डीआईजी विष्णुकुमार केसीसहित ११ एसएसपी जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, नविनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई र रवीन्द्र रेग्मी छन्।













