ललितपुरस्थित डीएमआई बाइबल स्कुलको होस्टेलमा मृत भेटिए विद्यार्थी

ललितपुर— ललितपुरको भैँसेपाटीस्थित एक होस्टलमा विद्यार्थी मृत भेटिएका छन्।
शनिबार बेलुकी ८ बजेतिर ललितपुर महानगरपालिका वडा नम्बर २५ भैँसेपाटी आवास क्षेत्रमा रहेको डीएमआई बाइबल स्कुलको होस्टेलमा एक विद्यार्थी मृत भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
मृतक मोरङका सकुल मर्डी छन्। उनी आफ्नो बेडमा सुतिरहेको अवस्थामा मृत भेटिएको एसपी सुवेदीले बताए।
घटनाको प्रारम्भिक अनुसन्धान सकेर प्रहरीले पोष्टमार्टमका लागि शव पाटन अस्पतालमा पठाएको छ।
मृतक छारे रोगको बिरामीसमेत रहेको खुलेको छ। यद्यपि मृत्युको कारणबारे पोष्टमार्टमपछि मात्रै खुल्ने एसपी सुवेदीले जानकारी दिए।
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१ १३:४९













