News Griha :: न्यूजगृह
डिस्चार्ज हुँदै राष्ट्रपति पौडेल

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल आज आइतबार डिस्चार्ज हुँदैछन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार अखिल भारतीय आयुर्विज्ञान अस्पतालमा (एम्स अस्पताल) मा उपचाररत राष्ट्रपति पौडेल आइतबार डिस्चार्ज हुन लागेका हुन् ।

‘सम्मानीय राष्ट्रपतिज्यूको उपचारमा संलग्न सबन्धित चिकित्सकहरूले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकोले आइतबारसम्ममा अस्पतालबाट डिस्चार्ज हुन सक्ने सम्भावना रहेको बताएका छन्,’ नेपाली दूतावासले भनेको छ ।

छातीमा जमेको पानीमा संक्रमण देखा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकको सुझावमा उनी उपचारका लागि नयाँ दिल्ली गएका थिए ।

गत ६ वैशाखमा श्री एअरलाइन्सको एअर एम्बुलेन्समार्फत नयाँ दिल्ली गएका पौडेल १० दिनपछि डिस्चार्ज हुन लागेका हुन् । छातीमा समस्या देखा परेपछि उनी ५ गते साँझ शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

सो अघि पनि पेटमा समस्या देखा परेको भन्दै राष्ट्रपति पौडेलको गत १८ चैतमा त्रिवि शिक्षण अस्पतालमा नै उपचार गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  ०६:३२
Weather Update